भारतले बिजुली दिन छाड्यो, नेपालमा लोडसेडिङ सुरु
भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।
हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
तर, अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।
‘हिजो मंगलबार एक्सचेन्ज बजारमा ४५ हजार करोड युनिट बिजुली माग थियो,’ घिसिङले भने, ‘तर, बिक्रीमा जम्मा ६ करोड युनिट मात्र बिजुली राखियो ।’ सोही कारण हाल भारतबाट बिजुली ल्याउनै मुस्किल भएकाले नेपालको माग धान्न सक्ने स्थिति नरहेको उनले बताए ।