राजेन्द्र लिङ्देनले भने: जनताले नेता आउँदा चोर आयो भन्न थाले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताप्रति मानिसहरुको विश्वास घटेको बताएका छन्।
‘अदालत, अदालतजस्तो छैन । सरकार, सरकार स्तो छैन। यसलाई राजनीतिले ठिक लगाउने हो । तर, राजनीति राजनीतिजस्तो छैन। नेताहरुप्रति जनताको विश्वास छैन,’ कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने,‘आजकल कुनै कार्यक्रममा कुनै नेता आउँदै हुनुहुन्छ भन्यो भने जवाफमा जनताले कुन चोर आएछ भन्छन् । नेता आएछ भन्दैनन् । त्यसकारण पनि बिग्रिएको छवि सुधार्नुपर्ने चुनौती हामीसामु छ।’
उनले ०४६ सालपछि सबै पार्टीमा टुटफुट देखिएको बताए । ‘०४६ सालपछि नफुटेको पार्टी छैन। हुँदा–हुँदा सबैभन्दा कान्छो विवेकशिल साझा पार्टी समेत फुट्यो । हामी कहाँ चुक्यौं । यसतर्फ सबैको ध्यान जानुपर्छ,’ लिङदेनले भने,‘संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद्ले मन्त्री बनाउन नपाउनेगरी पूर्व समानुपातिक संसदीय व्यवस्था ल्याउनुपर्ने आवश्यकता छ।’