मलाई ज्यान मार्ने धम्कीमा झापाकै नेता पनि संलग्न छन् : नेता लिङ्देन - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

मलाई ज्यान मार्ने धम्कीमा झापाकै नेता पनि संलग्न छन् : नेता लिङ्देन



बिर्तामोड : झापा ३ नम्बर क्षेत्रबाट निर्वाचित राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको झापाका राजनीतिक दलका नेतासँग पनि संलग्नता रहेको दाबी गरेका छन्।

बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सांसद लिङ्देनले गत चैत ७ गते देखि मोबाइल नम्बर र वाट्स एपमा एसएमएस र अडियो सन्देश पठाएर धम्की दिने व्यक्तिको कनेक्सन स्थानीय राजनीतिक दलका नेता सँग पनि रहेको खुलाएका हुन्।

‘दुईवटा मोबाइल नम्बरबाट मलाई धम्की आएको हो, त्यो माबाइल नम्बरबाट मेरै निर्वाचन क्षेत्रका राजनीतिक दलका नेता सँग पनि सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ,’ लिङ्देनले भने।

उनका अनुसार धम्की दिने एउटा नेपाल टेलिकमको नमस्ते र एनसेल नम्बरबाट ३÷४ पटक झापाका राजनीतिक दलका नेतासँग पनि संपर्क भएको प्रहरीले लिङ्देनलाई बताएको छ।

‘प्रहरीले उनीहरुको नम्बर अनुसन्धान गर्दा ती नेतासँगको सम्पर्क पनि देखियो, म ती नेतालाई राम्ररी चिन्छु, उनीहरुले नै मलाई धम्क्याउन लगाएका हुन् या होइनन्, त्यो अनुसन्धानका क्रममानै छ,’ लिङ्देनले भने, ‘सबै अनुसन्धान सकेर प्रहरीले उनीहरुको पनि नाम सार्वजनिक गर्ला।’

एक सातादेखि अज्ञात व्यक्तिले लिङ्देनलाई ज्यान मार्न ५० लाखको सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि आफ्ना शुभचिन्तक, आफन्त र सञ्चारमाध्यमबाट बारम्बार सम्पर्क भएपछि प्रहरी अनुसन्धानकै क्रममा आफूले गृह जिल्ला झापा आएर पत्रकार सम्मेलन गर्नुपरेको लिङ्देनले बताए।’प्रहरीले गम्भीररुपमा अनुसन्धान गरिरहेको छ, दुई जनालाई पक्राउ पनि गरेको छ, धम्क्याउनै पर्ने अवस्था कसरी आयो त्यो खुल्दै जाला, मैले मेरो भनाई राख्न पत्रकार सम्मेलन गरेको हुँ,’ लिङ्देनले पत्रकार सम्मेलनमा भने।

सांसद लिङ्देनलाई म्यासेज र अडियोमार्फत धम्की आउन थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाका विषयमा अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकायालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास रहेको अनुसन्धान अधिकारीलाई उदृत गर्दै लिङ्देनले बताए। आफू नडराउने भएका कारण आफूले सुरुमा नै प्रहरीलाई घटनाका विषयमा जानकारी लिएर म्यासेज र अडियोको प्रतिउत्तर नदिएको लिङ्देनको भनाई छ।

उनले स्थानीय राजनीतिक दलकै नेतासँग पनि पक्राउ परेका व्याक्तिको सम्पर्क भएको र सो स्थानीय राजनीतिक दलका नेतालाई आफूले राम्ररी चिन्ने भएकाले आफू सो घटनादेखि त्रसितभन्दा पनि अचम्मित भएको बताए।

यसरी लिङ्देनलाई धम्क्याउने काम भयो :

चैत्र ७ गते बेलुका ५ बजेर २५ मिनेटमा नेपाल टेलिकमको ९८४३९४७२९४ नम्बर बाट लिङ्देनको मोबाइलमा म्यासेज आयो। म्यासेजमा लेखेको थियो-‘राजेन्द्र सर हो, तपाईको मोबाइल व्यस्त मात्रै हुन्छ, एउटा अर्जेन्ट कुरा गर्नुछ, मलाई कल गर्नुहोस् है।’

त्यसलगतै अर्को पनि म्यासेज आयो- ‘यो नम्बरबाट वाट्स एपमा पनि मैले म्यासेज गरेको छु, तपाई वाट्स एप खोल्नुस्,’ दुबै म्यासेज लिङ्देनले हेरे तर त्यो म्यासेजको रिप्लाई भने दिएनन्।

पहिले मोबाइलमा म्यासेज गर्ने व्याक्तिले अब निरन्तर वाट्स एपमा म्यासेज गर्दै लेख्न थाल्यो- ‘दाई म तपाईको शुभेच्छुक हुँ, तपाईलाई मार्ने कुरा गरेको मैले सुने÷देखे, त्यहाँ पैसाको चलखेल भएको रहेछ, मैले होटलमा देखेको पाँचजना व्यक्तिले तपाईलाई मार्ने विषयमा कुराकानी गर्दै थिए, मत आतिए, दुईजना भारतीय नागरिकलाई तपाईलाई मार्न झिकाएका रहेछन्, सुरुमा २० लाख दिएको र काम भएपछि थप ३० लाख दिने कुरा गरेको सुने,’ ती व्यक्तिले यस्तो लेख्दै वाट्स एपमा म्यासेज पठाए।

उनले म्यासेजमा ‘तपाई राम्रो मान्छे, राम्रो मान्छेलाई नेपालमा टिक्न दिने रहेनछन् दाई, म विदेश जान लागेको तपाई जोखिनु होला, मैले त्यो एउटा भारतीयसँग तपाईको विषयमा राम्रो मान्छे भनेर कुरा गरेको छु, तपाईलाई फोन वा म्यासेज गर्न सक्छ,’ भन्दै लेखेका थिए।

तर, कुनै पनि म्यासेजको जवाफ सांसद लिङ्देनले फर्काएनन्। ती व्याक्तिले चैत ७ गते उक्त नम्बरबाट म्यासेज गरेर अब आफू विदेश उड्न लागेको तपाई सुरक्षित रहनुहोला भन्दै अन्तिम म्यासेज पठाएका थिए।म्यासेज पढेर लिङ्देन सुते ।

त्यसको भोलिपल्ट चैत ८ गते बिहान ९ बजेर ५३ मिनेटमा एनसेल नम्बर ९८१३५४४९२९ बाट लिङ्देनको वाट्स एपमा हिन्दी भाषामा अडियो र म्यासेज आउँछ। ‘तेरे आदेमी हमको ५० लाख देकर हमको तेरेको मार्नेके लिए काठमाडौ बोलाया, मगर तुतो अछा आद्मी हे, मगर ए आद्मी हमको पैसा देचुकाहे हाम क्या करे?’ म्यासेज पढ्दा भारतीय व्यक्ति अर्थात् अघिललो दिन म्यासेज गर्नेले सुराक दिए बमोजिम लिङ्देनलाई मार्न खटाईएका भारतीय नागरिकको जस्तो देखाउन र सुनाउन खोजिएको छ।

निरन्तर म्यासेजभन्दा अडियोमा सन्देश पठाउने ती व्याक्तिले लिङ्देनले उनले भनेको कुराको रेस्पोन्स नगरेपछि अन्त्यमा त राम्रो मान्छे रैछस, तपाई मार्दा मलाई पनि अल्लाहले पनि माफी दिँदैन भनेर अडियो म्यासेज पठाएका थिए।

लिङ्देनका अनुसार ती व्यक्रिले घुमाउँरो भाषामा ‘तलाई मार्न मलाई ५० लाख दिएको छ, त्यो मान्छे को हो, चिन्नका लागि र आफू बाँच्नका लागि मलाई ५० लाख दिन्छस्’ भन्ने शैलीमा बारम्बार कुरा गरेको देखिन्छ। सांसद लिङ्देनले अहिले सम्म प्रहरीले पक्राउ गरेका सँगको अनुसन्धानबाट सीम लिनेदेखि कुरा गर्ने सम्मको शैलीलाई हेर्दा सुरक्षित रहन विभिन्न प्रविधि र व्यक्तिसँगको कनेक्सन गर्न खोजेको देखिएको बताए।

प्रहरीले एक व्यक्तिको नम्बरबाट धम्की आएको समयमा ट्याकिङ् गर्दा काठमाडौमा आफू बसेको नजिकैको घरमा देखेपछि आफू केही आतिएको बताए। अहिलेसम्म प्रहरीले सुरुवातमा म्यासेज गर्ने र पछि हिन्दीमा म्यासेज गर्ने व्याक्ति एउटै भएको आफूलाई बताएको लिङ्देनले जानकारी दिए। अहिले अनुसन्धान भइरहेकाले आफूलाई जानकारी भएको विषय पनि प्रहरीले अनुसन्धान सकेपछि पत्रकार सम्मेलनमार्फत बाहिर ल्याउने उनको भनाई छ।