राप्रपालाई जिताए नोटबन्दी गर्ने लिङ्देनको घोषणा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

राप्रपालाई जिताए नोटबन्दी गर्ने लिङ्देनको घोषणा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताएका हुन्।

नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे। नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए। अध्यक्ष लिङ्देनले आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताए।

उनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गरे। उनले देशका ठूला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्‍याएको आरोप लगाए।