नियम र कानूनको धज्जी उडाउँदै राजेन्द्र लिङ्देन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नियम र कानूनको धज्जी उडाउँदै राजेन्द्र लिङ्देन



काठमाडौँ- नेताहरूलाई चोर भनेर चर्चामा आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आदेश नमानेर हज्जारौंको जुलुश लिएर हिंडेका छन् । कोरोना संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश गरेउपनि अध्यक्ष लिङ्देनले भने यसको अवज्ञा गरेका छन् ।

पछिल्ला केहि दिनमा ह्वात्तै बढेको कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि गृहले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सो निर्णयको सर्कुलर पनि हिजै पठाइसकेको छ । तर, गृह मन्त्रालयको सूचना जारी भएको २४ घन्टा नबित्दै राप्रपाले त्यसको उल्लंघन गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज कार्यक्रम गर्दै हजारौंको भीड जम्मा पारेको हो । भृकुटीमण्डपमा आयोजित राप्रपाको कोणसभामा सयौंको सहभागिता थियो ।

त्यसअघि अध्यक्ष लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको शालिकमा फूलमाला चढाउन गृहकै दैलो अगाडि पुगेका थिए । फरक राजनीतिमा आस्था राख्नेहरुलाई सार्वजनिक मञ्चबाटै ‘चोर’ भनेर चर्चामा आएका लिङ्देन आफैं पनि सुसंस्कृत देखिएनन् । जुलुसमा सहभागीहरुले स्वास्थ्य सतर्कता पालना गरेको पाइएको छैन ।

त्यसअघि सिंहदरबार अगाडि पृथ्वीनारायणको शालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भीड लागेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला पनि सयौंको भीड लागेको थियो । उनका समर्थकले समेत नाराबाजी गरेका थिए ।

पछिल्लो समय एकाएक कोरोना संक्रमण बढ्नुमा प्रमुख राजनीतिक दलहरु नै जिम्मेवार देखिएका छन् । कोरोना महामारीकै बीच दलहरुले भीडभाड हुने गरि आ–आफ्ना पार्टीका महाधिवेशन गरेका कारण संक्रमण बढेको हो । जसका कारण अहिले शीर्ष नेताहरु सबैजसो कोरोनाले थलिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म कोरोना लागेर घरमै आइसोलेसनमा बसेका छन् ।