२३ जना लिम्बु कवि एउटै मञ्चमा - Himal Post Himal Post
  • १ बैशाख २०८२, सोमबार
  •      Mon Apr 14 2025
Logo

२३ जना लिम्बु कवि एउटै मञ्चमा



काठमाडौँ: याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा २३ जना लिम्बु कविहरू सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने भएको छ । भदौ २८ गते, शनिवार राष्ट्रिय नाचघरको मिनीहलमा दिउँसो १२:३० बजे सुरु हुने कार्यक्रममा लिम्बु समुदायका चर्चित कविहरू चन्द्रवीर तुम्बापो, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, प्रकाश आङ्देम्बे, विमला तुम्खेवा, राज माङ्लाक, स्वप्निल स्मृति, सुन्दर कुरूप, हाङयुग अज्ञातलगायतको कविता वाचन रहेको छ ।

ब्लिस म्युजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्व सङ्गीत रहने उक्त अन्प्लग्ड कविता वाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झुमा लिम्बुले गरेकी छिन् । बिचमा गायक यासेली योङ्हाङको मुन्धुमी गायन प्रस्तुति पनि राखिएको छ । कार्यक्रममा तुम्याङको रूपमा वैरागी काइँला, बालकृष्ण माबुहाङ, अभि सुवेदी, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहने तय भएको छ ।

‘लिम्बुवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी’ कविताहरू प्रस्तुत हुने उक्त कार्यक्रममा कविहरू अप्सरा लावती, उत्तम लिम्बु, देवेन्द्र सुर्केली, प्रदीप मेन्याङ्बो, बच्चु हिमांशु, मधु केरुङ, मुनाराज शेर्मा, रञ्जना लिङ्देन, रोहित आङबो, विष्णु नेम्बाङ, सनि लिम्बु, सङ्गम सुहाङ, साङ्सेन वारक र सीता तुम्खेवाको पनि प्रस्तुति रहनेछ ।

ज्ञानोदय बाल बाटिका स्कुल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक सङ्घ, दक्षिण कोरिया समितिको सह प्रायोजन रहेको कविता तङ्सिङ् -२०७६ यसै वर्ष याक्थुङ लेखक सङ्घ, उपत्यका समिति गठन भएसँगै आयोजकको यो पहिलो कार्यक्रम हो।

आयोजकका अनुसार तङ्सिङ् अर्थात् लिम्बुहरूको धार्मिक अनुष्ठानलाई कवितासँग जोडेर कविताको अनुष्ठानको स्वरूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो।