विष्णु पौडेलपछि बालुवाटार काण्डमा लीलामणि पौडेल मुछिए
काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेता बिष्णु पौडेलको चर्चा सेलाउन नपाउँदै अर्का पौडेलको चर्चा सुरु भएको छ । बिहीबार प्रकाशित नागरिकको एक समाचार अनुसार राजदूत लीलामणि पौडेल पनि यस काण्डमा मुछिएका छन् ।
बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब १२४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् ।
भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुने गरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् ।
सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा देखिएको हो ।