ठुला माछा फन्दामा: लाइसेन्स नेपालीकरणको अनियमितता प्रकरण
काठमाडौं–
यातायात व्यवस्था कार्यालय सुकेधारामा बिदेशी लाइसेन्स नेपालीकरणको नाममा हुँदै आएको अनियमिततामा कार्यालय प्रमुखकै मिलेमतो प्रष्ट भएको छ। यातायात व्यवस्था विभागले कार्यलय प्रमुख सुन्दर भट्टराईलाई बुधबार जिम्मेवारीमुक्त गरेर अनियमितताका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।
छानबिन प्रतिवेदन आएलगत्तै यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बुधबार कार्यालय प्रमुखलाई हटाएका हुन् । कार्यालय प्रमुख भट्टराईसहित शाखा अधिकृत यमलाल ढकाललाई जिम्मेवारी मुक्त गरिएको छ।
‘संस्थागत रुपमा नै नेपालीकरणको नाममा त्यहाँ अनियमितता भएको देखियो,’ महानिर्देशक भट्टराईले भने,‘हामीले बुधबार कार्यालय प्रमुख र अधिकृतलाई जिम्मेवारीबाट हटाएर सबै फाइलहरु अख्तियारमा पठाएका छौं।’ विभागले गत महिना नै निर्देशक किरण ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले बुधबार प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा हाकिमसम्मको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा लाइसेन्स नवीकरण गरिएको खुलेको छ।
पासपोर्ट नै नभएका व्यक्तिको समेत नवीकरण
बिदेशमा लाइसेन्स लिएका व्यक्तिहरुले त्यसलाई प्रमाणित गर्ने कागजपत्र भएमा परिक्षा बिना नै नेपाली लाइसेन्स पाउँछन्। त्यसका लागि सम्बन्धित दुतावासको पत्रदेखि सम्बन्धि देश गएर आएको पुष्टि हुने भिषा लगायत कागजपत्र आवश्यक हुन्छ। तर, बिदेश गएका त के पासपोर्ट नै नभएका व्यक्तिहरुलाई समेत नेपालीकरणको नाममा लाइसेन्स दिइएको विभागको छानबिनमा खुलेको छ। नक्कली कागजपत्रकै आधारमा लाइसेन्स वितरण गरिएको पाइएपछि त्यससम्बन्धि फाइल अख्तियारमा बुझाइएको महानिर्देशक भट्टराईले बताए ।
पछिल्लो ८ महिनामा सुकेधारा कार्यालयबाट २६ सय लाइसेन्स नेपालीकरण गरिएको छ। जसमध्ये ९५ प्रतिशत नक्कली कागजपत्रका आधारमा नेपालीकरण भएको स्रोत बताउँछ। नक्कली कागजपत्रकै आधारमा एक व्यक्रिलाई लाइसेन्स जारी गर्न लाग्दा गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु यादब पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरिसकेको छ।
करिब २६ सय लाइसेन्स वितरणमा करिब १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागको अनुमान छ। त्यसरी लाइसेन्स नेपालीकरण गर्दा २५ देखि ८० हजार रुपैयाँसम्म लेनदेन हुने गरेको थियो। उपत्यकाका अन्य तीन कार्यालयबाट समेत नेपालीकरणका नाममा नक्कली कागजपत्रका आधारमा लाइसेन्स दिइएको हुनसक्ने आशंकामा विभागले छानबिन गरिरहेको छ।