लेखराज भट्ट भन्छन: सभामुख सापकोटाको ढङ्ग नै छैन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

लेखराज भट्ट भन्छन: सभामुख सापकोटाको ढङ्ग नै छैन



धनगढी। नेकपा (एमाले) का सचिव लेखराज भट्टले सभामुखलाई संसद् कसरी चलाउने भन्ने विषयमा ज्ञान नभएको बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टले सभामुखले संसदीय मर्यादा बिर्सिएको आरोप लगाए।

संसदमा एमाले गरिरहेको विरोधबारे पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए। “सभामुख सभामुख भएका छैनन्, उनी पार्टीका दूत भएर आएका छन्, सचिव भट्टले भने, “सदन कसरी चलाउनु पर्छ भन्ने उनलाई ज्ञान नै छैन। सदनलाई कसरी बढाउने, संसदीय मर्यादा कसरी राख्नुपर्छ भन्ने उनलाई ज्ञान नै छैन।”

भट्टले परमादेशबाट आएको सरकारले जे गर्नु पर्थ्यो त्यही गरिरहेको बताए। यो सरकारबाट नागरिकलाई धेरै अपेक्षा नरहेको समेत उनले दाबी गरे। भट्टले एमसीसीबारे एमाले पार्टीभित्र कुनै दुविधा नरहएको पनि प्रस्ट पारे।

“पहिले त सरकारले सदनमा यो बिषय ल्याउनु पर्‍यो अनि के गर्ने भन्ने हुन्छ,” भट्टले भने, “गठबन्धनवाला सरकारले हामीसँग बहुमत छ भन्दै छ, टेबुल गरे हुन्छ त। हाम्रो त सहयोग चाहिन्छ भनेकै छैन त।” पहिलेको सरकारले नै ल्याएको एमसीसीलाई एमाले सरकारले अगाडि बढाएको उनको तर्क थियो।