एमालेमा भट्टको मनोमानी : आफ्नै भाइलाई नगर कमिटीको अध्यक्ष घोषणा गरेपछि खैलाबैला
कैलालीको गोदावरी नगर कमिटीको अध्यक्षमा एमालेका सचिव लेखराज भट्टले आफ्नै भाइको नाम घोषणा गरिदिएपछि खैलाबैला भएको छ । विधि र प्रक्रियाविपरीत भट्टले आफ्नै भाइलाई अध्यक्ष बनाएको भन्दै प्रतिनिधिले बन्दसत्र समेत बहिष्कार गरेका छन् ।
अधिवेशन उद्घाटन तीन महिना अघि नै भएपनि विवादकै कारण अहिलेसम्म बन्द सत्रको बैठक बस्न सकेको थिएन । पूर्व माओवादी नेतासमेत रहेका भट्टले ‘सर्जिकल स्ट्राइक’ शैलीमा बुधवार बैठक बोलाएर अध्यक्षमा आफ्नो भाइको नाम घोषणा गरेका थिए ।
अधिवेशनका एक प्रतिनिधिले हिमालपोस्टसँग भने, ‘एमाले संगठनात्मक विधि र पद्धतिमा चलिरहेको पार्टी हो । कुनै माओवादी गुरिल्ला यहाँ आएर मनोमानी गर्न पाइदैन । यसबारे हामीले केन्द्रीय अध्यक्षको पनि ध्यानाकर्षण गराइसकेका छौं ।’
भटाभट अध्यक्ष र अन्य पदाधिकारीको नाम घोषणा हुन थालेपछि अधिकांश प्रतिनिधिले बैठक हल छाडेर बाहिर निस्किएका थिए ।
‘प्रतिनिधिलाई आफ्नो कुरै राख्न दिइएन,’ बन्दसत्र बहिष्कार गरेका प्रतिनिधि कृतबहादुर चन्दले भने, ‘खल्तीबाट निकालेर नाम घोषणा गरिएको छ । यो हामीलाई मान्य हुँदैन ।’