बादल र भट्ट माओवादीमै फर्किने: यस्तो छ तयारी - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

बादल र भट्ट माओवादीमै फर्किने: यस्तो छ तयारी



काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फ़र्काएपछि एमालेमै बसेका माओवादीका कतिपय नेताहरूलाई पुरानै पार्टीमा फर्काउने तयारी गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो लबिङपछि केहि नेताहरूलाई फर्काउने तयारी गरिएको बताइएको छ ।

एमालेमा देखिएको विवाद र अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अवस्थाका कारण माओवादीमा फर्किन चाहेका केहि नेताहरूलाई ल्याउने तयारी गरिएको बताइएको छ । माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी, दाबा लामा लगायतका २३ जना एमालेमै बसेका थिए ।

नेकपा एमाले आफ्नै विवादमा फसेपछि यता न उता बनेका केहि नेताहरू माओवादी केन्द्रमा फर्कने इच्छा ब्यक्त गरेका छन् । माओवादीमा फर्किन चाहेपनि अध्यक्ष प्रचण्डले चासो नदिएका कारण उनीहरू लामो समयदेखि रोकिएको चर्चा चलिरहेको थियो। पछिल्लो समय उनीहरूलाई फर्काउने बिषयमा प्रचण्ड समेत सकारात्मक देखिएको बताइएको छ ।

एमालेमै रहेर नयाँ बैचारिक समूह निर्माण गर्ने र नेकपा ब्युँताउने कसरत गरेपनि एमाले आफ्नै समस्याबाट बाहिर आउन नसक्ने देखेपछि नेताहरू माओवादी फर्किने मनसायमा पुगेका थिए ।

नेकपा माओवादी पार्टी नै खारेज गर्नुपर्ने माग राखेर निर्वाचन आयोग धाएका र सर्वोच्च अदालतमा माओवादीकै सांसद बनाइदिन भन्दै गुहार मागेका केहि उग्र नेता बाहेकका नेताहरू माओवादीमा फर्काउन प्रचण्ड सकारात्मक बनेपछि उनीहरूलाई कसरी फर्काउने भन्ने तयारी भएको माओवादी स्रोतले बताएको छ ।

खासगरी पूर्वमाओवादी र प्रचण्डप्रति नरम रहेका नेताहरू लेखेराज भट्ट र रामबहादुर थापा बादललाई माओवादीमा फर्काउन पहल थालिएको बताइएको छ। बादल र भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग एक तहको संवाद गरिसकेको बताइएको छ । टोपबहादुर रायमाझी र प्रभु शाहलाई भने ल्याउन प्रचण्डले मानेका छैनन् ।

उनीहरू फर्किन चाहेको सुचना प्रचण्डकहाँ पठाएपनि प्रचण्डले पार्टी नै सिध्याउन हिंडेकाहरू फर्किन नपर्ने जवाफ फर्काएका थिए । उनीहरूले प्रचण्डसँग भेट्न खोजेको भएपनि प्रचण्डले समय दिएका छैनन् । टोपबहादुर र प्रभुलाई माओवादीमा ढोका बन्द भइसकेको प्रचण्डले बताएका थिए । बादल र भट्ट फर्किए मणि, गौरीशंकर र दाबा पनि फर्किने बताइएको छ ।

उनीहरूको पछिल्लो गतिविधि माओवादी केन्द्रको विरुद्धमै केन्द्रित रहेको छ ।टोपबहादुर माओवादी र प्रचण्ड सकाउने अभियानमै हिंडेको र शाहले माओवादी मुक्त देश बनाउनुपर्ने अभिव्यक्ति दिएकाले प्रचण्डले भेट्दै नभेट्ने अड्डी कसैका छन् ।