झगडाको बिउ प्रचण्ड र नेपाल हुन्, म कसैको नोकर होइन: लेखराज भट्ट
काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टी एकता बचाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रोल’ नखेलेको भन्दै असन्तुष्टी जनाएका छन् ।
सोमबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै मन्त्री भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा अोलीको विकल्प आफूलाई सह्य नहुने बताएका छन् ।
‘हिजो पार्टी एकता किन गरियो । आज एकता किन आवश्यक छैन् । त्यसको औचित्य के हो पुष्टि गर्नुपर्यो नि त । अहिले एकता प्रधान हो । त्यसका निमित्त दुई वटा हस्ताक्षरकर्ता एक ठाउँमा हुनुपर्छ’, उनले भने, ‘एउटालाई मात्र निकाल्ने हो भने एकता ब्रेक हुन्छ । त्यसकारण यो चिज गर्नुहुन्न भनेर मैले स्पष्ट राखेको छु ।’
त्यस्तै उनले सरकारबाट प्रधानमन्त्रीलाई हटाएर जनतालाई धोका हुने बताएका छन् । जनताले पाँच वर्षका लागि दिएको सरकार फेरबदल भइरहे जनतामाथि नै धोका हुने उनको निष्कर्ष छ ।
‘अहिले सरकार बदल्ने मन्त्री बदलिएलान हामी छोडौंला तर, प्रधानमन्त्री नै हटाएर अर्को प्रधानमन्त्री आउने भनेको जनताको विश्वासलाई तोड्ने हो । जनताले जे अपेक्षा खोजेको छ त्यो पूरा हुँदैन’, उनले भने, ‘देश अस्थिरतातिर जान्छ । केपी शर्मा ओलीलाई हटाएर अर्को प्रचण्ड नै आउलान , माधव नेपाल अथवा झलनाथको कुरो पनि आउला । यो देशमा जे पनि हुन्छ वामदेवजी नै पनि आउन सक्नुहुन्छ । यसले त एउटा गलत नजिर बस्छ ।’
त्यस्तै मन्त्री भट्टले नेकपाभित्रको झगडाको बिउ अध्यक्ष ओली मात्र नभएको बताएका छन् । उनले नेकपाभित्रको झगडाको बिउ अध्यक्ष प्रचण्ड र माधव नेपाल भएको संकेत गरे ।
‘नेकपाभित्रको झगडाको बिउ प्रचण्ड र माधव नेपाल हुन भन्यो भने के हुन्छ ? मलाई मन्त्री बनाउन प्रचण्डको भूमिका के कति होला त्यो छ । प्रचण्डलाई त्यहाँ पुर्याउन मेरो पनि कही न कही भूमिका होला । आन्दोलनमा सबैको त्याग तपस्या बलिदान छन्’, उनले भने, ‘कुनै पनि नेतृत्व कार्यकर्ता र जनताको सहयोग बिना नेतृत्व हुन्न । विचारको केन्द्रीकरण हामीले प्रचण्डमा भनेका हौं ।’
यस्तै उनले अध्यक्ष प्रचण्डले अहिलेको आवश्यकतालाई बुझ्न कही न कही बिराइरहेको बताएका छन् । उनले आफू कुने पनि गुटमा नगएको बताएका छन् । अध्यक्ष प्रचण्ड गुट छोडेर ओली गुटमा गएको भन्नै हला निराधार भएको मन्त्री भट्टले बताए । त्यस्तै उनले अध्यक्ष अोलीलाई कसैले हटाउन नसक्ने बताएका छन् ।
‘उहाँसँग मैले पानी बारेको पनि छैन् । उहाँ पनि म कहाँ आउनुहुन्थ्यो भोली हाउनुहुन्छ होला । जहाँ मेरो उहाँसँग चित्त दुखाई होला यो सबै भनिरहनु आवश्यक नै छैन् नि । म कुनै पनि क्याम्पमा छैन् । म ओली क्याम्पमा गएको भनेर आठौं आश्चर्य भयो त ?’, उनले भने, ‘ प्रधानमन्त्री ओलीलाई अहिले कसैले हटाउन सक्दैन । प्रचण्ड र माधव नेपालको मात्र पार्टी हो ? केपी अोली होइन ? म पार्टी होइन ? जनता पार्टी होइन ?’
त्यस्तै उनले अहिले प्रधानमन्त्री अोलीको राजीनामा मागे पार्टी फुट्ने चेतावनी दिएका छन् । मन्त्री भट्टले एकता महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने बताए ।
‘एकता महाधिवेशनसम्म नगएसम्म एउटा अध्यक्ष गए भने पार्टी ब्रेक हुन्छ । कसैले कसैको राजीनामा माग्ने अथोरिटी छैन् । केपी शर्मा अोलीलाई हटाएर नेकपा पार्टी फुट्नु हो । हामी त्यहाँ सम्म पपुग्नु हुँदैन’, उनले भने ।
मन्त्री भट्टले प्रचण्डले बोलाएको गुटको भेलामा आफू नजाने स्पष्ट पारेका छन् । ‘म गुटको भेलामा जान्न । मन्त्रीको हैसियतले प्रधानमन्त्रीले बोलाएको भेलामा जान्छु । तर, उहाँले पनि गुटको भेला गर्नुभयो भने म जान्न’, उनले भने, ‘म कुनै गुटमा छैन् यति चै खुलासा गर्न सक्छु । प्रचण्डलाई चमत्कारिक व्यक्तित्व हामीले बनाएको हो । हामीले साथ नदिई आफैं चमत्कारिक व्यक्तित्व बन्दैन । मलाई सडकबाट उठाएर मन्त्री बनाएको भए उहाँलाई धन्यवाद दिनैपर्छ । मैले पनि गोली खाएको हुँला ।’
त्यस्तै उनले प्रचण्डलाई धोका दिने नदिने भन्ने आफू नोकर नभएको बताएका छन् । ‘म अध्यक्ष प्रचण्डको नोकर त होइन होला नि । म त सहयोद्धा नै हो । उहाँसँगसँगै आन्दोलनमा आएको हो । मैले कहाँ भनेर धोका दिए’, उनले भने, ‘पार्टी एकता उहाँले गर्ने । पार्टी एकता कच्नुपर्छ भन्दा धोका दियो भन्ने राइट्स् कहाँबाट आउँछ ?’
पत्रकारले प्रचण्डको कोटाबाट मन्त्री बनेको भनेपछि भट्ट रिसाएका थिए । उनले आफ्नो ठाउँमा कुनै किसानलाई ल्याएर मन्त्री बनाइदिए हुन्छ भन्दै चर्किएका थिए ।
‘मैले पार्टीमा योगदान गरेको छु । ५० वर्षदेखि राजनीतिमा लागेको छु । त्यसै मन्त्री बनाउने हो ? त्यसो हो भने सडकबाट उठाएर बनाए हुन्थ्यो नि त ?’, उनले भने ।
त्यस्तै उनले आफू अध्यक्ष प्रचण्डसँग फोन सम्पर्कमा नरहेको बताएका छन् । उनले विगत तीन महिनादेखी अध्यक्ष निवास नगएको स्पष्ट पारेका छन् ।
‘फोन गर्ने आवश्यकता नै छैन् नि । मसँग उहाँको नम्बर पनि छैन्’, उनले भने, ‘केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । असफल मन्त्रिमण्डलमा म कहाँ बस्छु ?’