लेखा समितिले भेट्टायो स्वास्थ्य सामाग्री खरिदमा भएका कैयौँ अनियमिता
काठमाडौँ – संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अख्तियारको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।
समितिले कोभिड १९ रोकथामका लागि असम्बन्धित व्यक्तिलाई संलग्न गराई स्वास्थ्य उपकरण खरिद गरिएको बताएको छ ।
लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए।
यस्तै खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको उनले बताए । खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछि मात्रै बजेटको माग गरिएको पाइएको सभापति शाहले बताएक छन् ।
प्रारम्भिक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रा.लि. वार्तामा सहभागी गराएको र कोटेशन लिएको, लागत अनुमान नेपाली रुपैयाँमा तयार गरी अमेरिकी डलरमा सम्झौता गरेको कारणले स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि परेको समेत बताइएको छ ।
ओम्नी बिजनेस प्रालि (ओबिसिआई) सँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र दुई दिन म्याद बाँकी छँदै २०७६ चैत २० गते खरिद सम्झौता रद्ध गरेको र कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) लाई पत्राचार गरेको तर उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको तथ्यहरु प्रारम्भिक अध्ययनमा फेला परेको सभापति शाहले बताएका छन् ।
एन ९५ मास्क को लागत अनुमान ४ सय ६२ रुपैयाँ ५० पैसा रहेकोमा गैरकानुनी रुपमा लागत अनुमान भन्दा बढी हुने गरी ८ सय २८ रुपैयाँ ६७ पैसामा ओम्नी बजिनेसबाट खरिद सम्झौता गरेको तर एक महिना अघि सोही सामान खरिद गर्दा लगात अनुमान २ सय ६५ रुपैयाँ ४८ पैसा रहेको र प्रस्ताव न्यूनतम ६ सय ४८ रुपैयाँ परेकोमा खरिद नगरेको देखिएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।
यस्तै सार्वजनिक निकायको एक वर्ष भित्र गरिने खरिदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिना अघि थर्मोमिटर खरिद गर्दा ४ हजार रुपैयाँ मूल्य कायम गरेको तर ओम्नीबाट खरिदका लागि ७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको देखिएको छ ।
ओम्नी बिजनेससँग कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भए नभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौता अनुसार खरिदमा पु¥याएको क्षतिको असुल उपर नगरी गुणस्तर परिक्षण नगरी मालसामान उपयोग गरी गैर कानुनी रुपमा भुक्तानी दिएको बताइएको छ ।