कैलाली-४ मा लेखराजलाई भारी पर्लान नैनसिंह? - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

कैलाली-४ मा लेखराजलाई भारी पर्लान नैनसिंह?



काठमाडौं- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य नैनसिंह महर बलियो दाबेदारको रुपमा देखिएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरलाई कांग्रेसबाट मुख्य दाबेदारको रुपमा लिइएको हो।

केन्द्रीय सदस्य महरको बालुवाटारसँग पनि राम्रै सम्बन्ध छ। विद्यार्थी राजनीतिबाट उदायका महरले कांग्रेस केन्द्रीय समितिमा समेत लोकप्रिय मत ल्याएका थिए।

संगठन निर्माणमा विषेश दखल राख्ने महर पार्टीभित्र स्पष्ट बक्ताको रूपमा समेत चिनिन्छन्। त्यसैले कैलाली ४ बाट महरको सम्भावना बलियो रहेको चर्चा हुन थालेको छ। युवामाझ लोकप्रिय रहेका महरलाई टिकट दिँदा कांग्रेसले कैलाली ४ मा सहजै जित निकाल्ने अंकगणित स्थानीय तहमा भएको नेपाली कांग्रेस गोदावरीका युवा नेता तेज खड्का बताउँछन्।

महरको स्थायी घर लडेलधुरा हो। हाल उनको अत्तरियामा समेत बसोबास रहेको छ। महर विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका व्यक्ति हुन्। २०४७ सालमा १६ वर्षकै उमेरमा उनी असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए। २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यबहाक जिल्ला अध्यक्ष भए। २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए।

२०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बने। उनले राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा पनि काम गरे। महरले पत्रकारीता सुरु गरिसकेपछि २०५६ सालमा नेपाल पत्रकार महासंघको डडेधुराको संस्थापक अध्यक्षका रूपमा काम गरे। सक्रिय राजनीतिमा लागेपछि भने उनले पत्रकारिता छोडे।

महरले २०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरे। र, २०५७ सलामा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए। महर २०६४ सालमा निर्वाचित उपाध्यक्ष भए। २०७३ सालमा निर्वाचित अध्यक्ष भए। र, पार्टीको १४औं महाधिवेशनबाट उनी केन्द्रीय छन्। पार्टीको आन्तरिक चुनावमा उनी कहिले पराजित भएनन्।

स्पष्ट बोल्नसक्ने क्षमता भएका महरलाई पार्टीभित्र विचार प्रवाह गर्नसक्ने युवा नेताको रुपमा लिइन्छ। उनले आधा दर्जन पुस्तकसमेत प्रकाशन गरेका छन्। त्यसैले उनले पार्टीभित्र अध्ययनशील नेताको छवीसमेत बनाएका छन्।

युवामाझ लोकप्रिय हुँनु र अहिले जनताले पनि परीक्षण गर्न बाँकी रहेका नेतालाई खोजिरहेकाले उनका लागि चुनाव जित्न सहज हुनसक्छ। अर्को कुरा स्थानीय चुनावमा अत्तरियामा मेयरसहित अधिकांश वडा कांग्रेसले जितेकाले पनि त्यसका फाइँदा उनलाई पुग्ने देखिन्छ।

पुराना नेतालाई अत्तरियावासीले परीक्षण गरिसकेकाले यस पटक आफू विजयी हुनेमा ढुक्क रहेको महरको भनाइ छ। ‘मलाई पार्टीले टिक दिनेमा पनि म विश्वस्त छु। र, जित्नेमा पनि विश्वस्त छु,’ उनले भने।

आफूसँग काम गर्ने दीर्घकालिन योजना रहेको महरको दाबी छ। सुदूरपश्चिमका सबै जिल्ला जाने मूल द्वारका रुपमा रहेको अत्तरिया भौगोलिक रुपमा पनि निकै उत्कृष्ठ स्थान रहेको उनी बताउँछन्। ‘माथि पहाड छ। तल गर्मी छ। गर्मी हुँदा त्यहाँका जनता पहाड चड्छन्। चिसो हुँदा तराईं झर्छन्। थारु र पहाडी समुदाय मिलेर बसेका छन्। पर्यटकीय सम्भावना बोकेको गोदावरी पनि त्यही क्षेत्रमा छ। पर्यटकीय क्षेत्र खानीडाँडा पनि त्यही छ। यी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ,’ उनी भन्छन्। उनले गोदावरीलाई अन्तर्राष्ट्रिय धार्मीक आस्थाको केन्द्र बनाउन सकिने बताए।

यसका साथै कर्णाली र महाकालीलाई जोडेर सिँचाइको व्यवस्था गर्न सकिने महरको भनाइ छ। ‘बाटोको मर्मत, विद्युती करण, खानेपानीको व्यवस्था, पुलपुलेसाको व्यवस्था, व्यवस्थित सहरीकरणमा मेरो ध्यान केन्द्रीत हुने छ। त्यहाँको उत्पादनलाई भारतमा मात्रै होइन, तेस्रो मुलुकसम्म पुगाउनका लागि थप आधुनिकीकरण गर्नेमा मेरो ध्यान केन्द्रीत हुनेछ। कृषिमा हामी आधुनिकीकरण गर्ने छौं। पहाडि क्षेत्रमा उत्पादन हुने सुन्तला, अदुवा र दाललाई भाह्य मुलुकमा निर्यातको व्यवस्थापनमा ध्यान दिने छु,’ उनले भने।

उनले आफूले जित्दा कुनै क्षेत्रको मात्र नभएर समग्र सुदूरपश्चिककै विकाससँग जोड्नेगरी दीर्घकालिन रुपमा काम गर्ने बताएका छन्। सुदूरपश्चिममा जटिबुटी, विद्युतीकरण र भर्जिन पर्टकीय क्षेत्र रहेकाले ती क्षेत्रको विकासमा पनि आफ्नो प्राथमिकताका साथ ध्यान केन्द्रीत हुने महर बताउँछन्।

‘हामीले कर्णाली, सेती, महाकालीबाट मात्रै विद्युत उत्पादन गरेर मुलुकलाई समृद्ध गर्नसक्छौं। खप्तड, घोडाघोटी, बडिमालीका, त्रिपुरासुन्दरी, बैजनाथ, उग्रताराको विकास गरेर पर्यटक भित्र्याउन सक्छौं। ती क्षेत्रको विकास गर्दा प्रवेश गर्ने मुख्यद्वार अत्तरिया बन्छ। त्यहाँ मानिसहरूको आवागमन हुन्छ। र, आर्थिक क्रियाकलाप बढ्छन्। जसले जनताको समृद्धिमा मद्दत पुग्छ,’ महरले भने।

२२ हजार मेगावाट विद्युत सुदूरपश्चिमबाट उत्पादन गर्न सकिने बताउँदै उनले सुदूरपश्चिमलाई विद्युतीय प्रदेशका रुपमा विकास गरेर समग्र नेपालकै उन्नतिमा योगदान पुगाउन सकिने बताए। ‘म सधैँ विकासका क्षेत्रको बारेका सोच्ने व्यक्ति हुँ। म परीक्षण हुन बाँकी छु। पुराना नेतालाई सबैले परीक्षण गरिसके। मसँग योजना छ। दौड्नसक्ने क्षेमता छ। त्यसैले मलाई जनताले जिताउनेमा आसावादी छु,’ नेपाल समयसँगको कुरामा उनले भने।

गेटा मेडिकल कलेजको कुरामा पनि आफू गम्भीर रहेको महरले बताए। ‘म जनताको शिक्षा र स्वास्थ्यका क्षेत्रमा निकै गम्भीर व्यक्ति हुँ। विद्यार्थी राजनीति गर्दादेखि नै शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ भनेर आवाज उठाउने व्यक्ति हुँ। निर्वाचित भइसकेपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर मैले रणनीतिक रुपमै थुप्रै कार्य गरेर देखाउने छु,’ उनले भने।

यसका साथै अत्तरिया क्षेत्रमा नमुना राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। ‘मैले कसैलाई दोष दिने छैन। अहिलेको युवाले काम गरेर देखाउने हो। हिजो जसले जे गरे गरे। ती कमिकमजोरीको चर्चा गर्दै बस्ने होइन। काम गरेर विग्रिएको चिजलाई सुधार्ने हो। म त्यही रणनीतिका साथ अघि बढ्ने छु। भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले सुदूरपश्चिममा उत्पादित बस्तुको अन्तर्राष्ट्रिय बजारिकरणका लागि पनि मेरो विषेश पहल हुने छ।

यीनै आधारले कैलाली ४ मा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट भन्दा उनी बलियो रहेको बताइन्छ। एमालेले कैलाली ४ बाट भट्टको एकल नाम सिफारिस गरेको छ।

पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्टले यसै क्षेत्रबाट २०६४ र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए‍। २०७० सालमा भने भट्टलाई कांग्रेस नेता दीर्घराज भाटले पराजित गरेका थिए।

पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमासमेत लिएका छन्। माओवादीबाट अलग्गिएर एमालेमा आएका भट्टलाई पनि विजयी हुँदै आफ्नो प्रतिष्ठा जोगाउने चुनौति छ।