लक्ष्मण थारूले गरे विद्रोहको घोषणा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

लक्ष्मण थारूले गरे विद्रोहको घोषणा



धनगढी– अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारूले विद्रोह गर्ने घोषणा गरेका छन् । उच्च अदालत दीपायलले उनलाई जन्मकैदको फैसला सुनाएपछि लक्ष्मण थारु अहिले भुमिहत जस्तै बनेका छन्।

टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएका थारुले शनिबार जंगलमा पत्रकार सम्मेलन गरी न्यायका लागि विद्रोहमा जाने घोषणा गरेका हुन् ।

उनले पत्रकारहरुसँग भने, ‘हामी विभिन्न पक्षहरुसँग मिलेर कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने तयारीमा छौँ।’

थारुले प्रधानमन्त्रीको इसारामा उच्च अदालतले फैसला गरेको बताउँदै न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने बताए।

अहिले संसद विघटन गरेर ओलीले बेइमानी गरेको आरोप थारुको छ। उनले सरकारले वार्ताका लागि भनेको भएपनि विनासर्त मात्र सरकारसँग वार्ता गरिने बताए।

जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार रहेका छन्।