“लावाजुनी”को फष्टलुक सार्वजनिक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

“लावाजुनी”को फष्टलुक सार्वजनिक



दाङ /कात्तिक ८ ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, गीतकार तथा साहित्यकार केएल पीडितको लेखन/निर्देशन/निर्माण रहेको चलचित्र “लावाजुनी”को फष्टलुक बुधवार सार्वजनिक गरिएको छ । थारु समुदायमा रहेको कमलरी प्रथालाई मुख्य विषयवस्तु बनाएर लावाजुनीको निर्माण गरिएको छ ।

घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडित, कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, पत्रकार महासंघकी केन्द्रीय पार्षद् बसुन्धरा गौतम, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्सालले सामूहिकरुपमा पोष्टर सार्वजनिक गरेका थिए ।

चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेतको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक कार्यक्रममा विषय प्रवेश गराउँदै निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कमलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिगाथा, संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताए । नेपाल तथा देशबाहिर विशेष प्रदर्शनपछि लावाजुनीलाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितले बताए ।

कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, युवा अभियन्ता प्रकाश शाही र कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार निशानदाजु भट्टराईले गरेका थिए ।

चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी, ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको संगीत सन्तोष श्रेष्ठको छ । कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीले चलचित्रका गीतमा स्वर दिएका छन् । नृत्य निर्देशन नरेन्द्र चौधरीले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने रिना बस्नेत, सम्झना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।