विदेशीएका नेपालीको लासको पनि महत्त्व रहेछ... - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विदेशीएका नेपालीको लासको पनि महत्त्व रहेछ…



~~कर्ण बहादुर अधिकारी~~

समय बदलियो मान्छेको विचारह बदलिए श्रीमानको मृत्यु भए पश्चात् सँगै चितामा जलेर सती जाने श्रीमतीको कथाले सयौँ वर्ष नाघि सकेको छ। नयाँ जमाना अनुसारको नयाँ सोच , नेपालीहरू चलायमान भई भैसकेका छन्।

दिन दिनै मानवमा मानवता नै हराउँदै गएको आभास हुँदै छ। परापूर्व कालमा धन भन्दा मन ठुलो हुन्थ्यो भन्थे तर आजकल मन भन्दा धन ठुलो भएको छ। सबै धनको पछाडि दौडन व्यस्त छ। धनको चक्र ब्यूहमा परेर बिदेशीनेहरूको लहरले गाउँ बस्तीमा सु सान छाएको छ। दैनिक जसो नेपाली दाजुभाइ दिदीबहिनीहरू बिदेशीएका छन् भने बिदेशीएका नेपाली दाजुभाइ दिदी बहिनीहरूको मृत शरीर नेपाल भित्रिने पनि त्यतिकै मात्रामा छ।

विदेशले कसैलाई खुसी ल्याई दिएको छ भने कसैलाई जीवनकै आखिरी किनारा लगाई दिएको छ। परिवारको आर्थिक अवस्थामा सुधार ल्याउँछु परिवारलाई सुख सयलमा हुर्काउँछु भन्नेहरू आफूले आफैलाई नै नेपालका मेन पावर कम्पनीहरूमा बेच्दै विश्वका विभिन्न मुलुकमा कार्यरत रहेका छन्। देशको राजनीतिक अस्थिरता, गरिबी र रोजगार हुने माहौल नहुँदा वर्तमान अवस्थासम्म आईपुग्दा ६० लाख भन्दा बढी नेपाली नागरिकहरू विदेशमा कार्यरत रहेका छन्। यसरी नेपाली नागरिक बिदेशीनु दुर्भाग्य हो।

कामको सिलसिलामा शरीरमा सन्चो रहुन्जेल दिनरात नभनी कम्पनीले लगाएको काम गरी पैसा कमाएर परिवारलाई पठायो तर त्यही शरीरमा सन्चो नहुँदा न त परिवारको साथ पाइन्छ न त मनमा नै शान्ति मिल्छ।एकान्तमा बस्यो त्यही परिवारको सम्झनामा विलीन हुँदै बन्द कोठा भित्र सिरानीले मुख छोपेर रुने भन्दा केही विकल्प निस्कँदैन। सकीनसकी खाना पकायो खायो। बिरामी शरीर सन्चो भए त ठिकै छ यदि सन्चो भएन भने विदेशमा ज्यान गुमाउनु परेको हामी सामु थुप्रै उदाहरण पनि छन्। कोही थलिएर मर्छन् भने कोही थाहा नपाई उच्च रक्तचाप, मधुमेह, ह्रदयघातका कारण मर्छन्। परिवारलाई सुखी र खुसी बनाउँछु भन्नेहरूको विदेशी भूमिमा नै मृत्युवरण गरेपश्चात् प्राय सबै मृत शरीरलाई सम्बन्धित कम्पनीहरूले नेपाल पठाए पनि केही राष्ट्रबाट लैजानको लागि कठिन स्थिति सृजित हुँदा त्यही देशमा सतगत गर्नु पर्ने अवस्था समेत रहेको छ।

जिउँदो हुन्जेल दिनरात नभनी परिवारको लागि खटिनेहरूको मरीसकेपछि पनि त्यो मृत शरीरले त्यति नै महत्त्व राख्ने गरेको छ। केही दिनदेखि मृत शरीरलाई शव गृहमा राखिएको हुन्छ भने बाहिर बस्ने आफन्तजनहरू भने उ त मरेर गयो तर उसले मरीसकेपछि कम्पनीबाट के कति क्षतिपूर्ति पाउँछ भन्दै सम्बन्धित निकायसँग छलफलमा जुटीरहेका हुन्छन् साथै हाम्रो आर्थिक अवस्था कम्जोर छ आर्थिक सङ्कलन गरीदिनुपर्‍यो पनि भन्न पछि पर्दैनन्। आखिर यो संसारमा पैसा जति ठुलो केही छैन भन्ने कुरा यस्ता किसिमको उदाहरणबाट प्रस्ट हुन्छ। माया ममता के हो भन्ने कुरा सबैले भुलीसके न त श्रीमानलाई श्रीमतीको माया छ न त श्रीमतीलाई श्रीमानको न त छोरा छोरीलाई बाबु आमाको माया छ न त बाबु आमालाई नै छोरा छोरीको। समय बदलिएसँगै मान्छेको भावना बिचार बदलिएको हामी प्रस्ट पाउँदछौ।

विदेश हिँड्नुको अघिल्लो रात एकआपसमा अँगालोमा बाधिदै रूवाबासी गर्नेहरू बिस्तारै समय बित्दै जाँदा पैसाको मोहमा पर्दै ती विगतका पलहरूलाई भुली दिन्छन्। अब त माया भन्दा पनि पैसाको खाँचो परी सकेको छ। यता फर्कियो पैसा उता फर्कियो पैसा। बिहान उठे पश्चात् बेलुकी नसुते सम्मै पैसाको आवश्यकता। त्यही आवश्यकता पुरा गर्नकै लागि आफ्नो जीवनको सबै पलहरू विदेशी भूमिमा नै समर्पित गरी दिन्छन्। मर्नेहरू मरेर गए पनि बाच्नेहरू उमेर ढल्के सँगै सम्पूर्ण जोस जाँगर मुग्लानमा विसर्जन गर्दै पतेराले चुसेको पात झैँ भएर स्वदेश फर्किन्छन्। यो नेपालीको रहर नभै बाध्यता हो। कसलाई रहर हुँदैन आफ्नो परिवारसँग बस्ने तर त्यही पापी धनका कारण बिदेशीन बाध्य छन्।