लामो दूरीका यातायात चलाउने तयारी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

लामो दूरीका यातायात चलाउने तयारी



काठमाडौं- चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन्।

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतले सञ्चालन गरेका थिएनन्।

व्यवसायीको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासंघले यातायात सञ्चालनको तयारी थालेको खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई÷तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए। ‘हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन,’ उनले भने।

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुर्नकर्जाको व्यवस्था गरेको छ।

कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासंघले जनाएको छ।

मौद्रिक नीतिको कार्यविधि कस्तो आउँछ भनेर व्यवसायीले पर्खिएका छन् । उपाध्यक्ष स्वाँर भन्छन् ‘कार्यविधि आउनुप¥यो, यातायात क्षेत्रलाई राम्रै घोषणा भएको छ तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिन्छ, त्यो हेर्न बाँकी छ।’

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने भएको छ।

छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा सुरु गरिरहेका छन् । ट्याक्सी तथा टेम्पो पनि सञ्चालन भएका छन्।