शेखरको ब्रिफिङपछि देउवा र प्रचण्डबीच लामो छलफल
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने नगर्ने विषयमा सत्तागठबन्धन दलका शीर्ष नेताहरुकाबीच सहमति नजुटिरहेका बेला वुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि प्रचण्ड साँझ ५ वजे बालुवाटार पुगेका थिए । दुई दिन देखि सत्तागठबन्धन दलका शीर्ष नेताहरु भेटवार्ताभेट भएका थिएनन् । प्रधानमन्त्री देउवाले सभामुखमाथि दवाव बढाउने, प्रतिपक्षी एमालेको साथ लिने र आवश्यक परे गठबन्धन तोडेर भएपनि एमसीसी सम्झौता सदनमा लैजाने योजना बनाईरहेका छन् ।
सोही कारण सत्तागठबन्धन दलकैबीच आशंका उब्जिरहेका बेला गठबन्धनका दुई शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे विस्तृत जानाकारी नगराईएपनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच एमसीसी सम्झौता र स्थानीय तह निर्वाचनका विषयमा केन्द्रीत छलफल भएको बताईएको छ ।
प्रधानमन्त्रीले गत माघ १६ मै संसदमा एमसीसी सम्झौता अगाडी बढाउन चाहेका थिए । त्यसपछि संसद बैठक माघ २६ सम्मलाई स्थगित भएको थियो । अहिले फेरि बैठक स्थगित गरेर फागुन २ गतेका लागि बोलाईएको छ । अमेरिकाले फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदनका लागि सरकारलाई ताकेता गरिरहेको छ ।
प्रधानमन्त्री एमसीसी पारित गर्न कम्मर कसेर लागेपनि माओवादी केन्द्र परिमार्जन बिना जस्ताको तस्तै पारित गर्ने पक्षमा छैन । सत्ता गठबन्धन घटकको अर्को दल नेकपा एकीकृत समाजवादी पनि माओवादीसँगै छ यो विषयमा । प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेट अगाडी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा थिए । बुधबार बिहान नेता नेपाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।
खुमलटारमा प्रचण्ड र नेपालबीच झण्डै दुई घण्टा लामो सम्वाद भएको थियो । उक्त सम्वाद कर्णाली प्रदेश सरकार गठनमा नेकपा एसले जनाएको असन्तुष्टीका विषयमा केन्द्रीत रहेको भनिएपनि एमसीसी र स्थानीय तह निर्वाचनका विषयमा दुई पार्टीले बनाउने समझदारीमा केन्द्रीत रहेको बताईएको छ ।
नेपालसँग बिहानको छलफलपछि साँझ प्रधानमन्त्रीसँग प्रचण्डको भेटवार्ता भएको हो । देउवाले पनि यस विषयमा आन्तरिक छलफल गरेका छन् । कांग्रेस नेता शेखर कोइरालासँगको छलफलपछि प्रधानमन्त्रीले प्रचण्डसँग भेट गरेका हुन् । कोइरालाले मंगलबार साँझ मात्र विपक्षी दलका नेता केपी ओलीसँग भेट गरेका थिए ।
त्यही भेटका बारेमा कोइरालाले प्रधानमन्त्रीलाई जानकारी समेत गराएका थिए । ओली सत्तागठवन्धन एमसीसीकै कारण टुटाउन चाहिरहेका छन् । यस्तो बेला राजनीतिक दलका बीचमा भईरहेको भेटघाट निक्कै अर्थपूर्ण मानिएको छ ।