अनिश्चितकालका लागि बन्द भयो लम्की अस्पताल - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अनिश्चितकालका लागि बन्द भयो लम्की अस्पताल



धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।

उपचारपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम बढेको भन्दै अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो।

अस्पतालले आज (बिहीबार) एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ।

अस्पतालमा उपचार गरि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज रेफर गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको मंगलबार मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो।

अस्पतालमा उपचार गरि रेफर गरिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको सूचनामा उल्लेख छ।

ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवं कर्मचारीको परीक्षण नगर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले परीक्षण गरी नतिजा नआउन्जेलसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने अस्पतालले जनाएको छ।