ललितपुर महानगरका ८ जनाको उम्मेदवारी खारेज, चिरिबाबु 'सेफ' - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ललितपुर महानगरका ८ जनाको उम्मेदवारी खारेज, चिरिबाबु ‘सेफ’



काठमाडौ- निर्वाचन आयोगले ललितपुर महानगरपालिकाका ८ जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।

स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गराएका ८ जनाको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । विभिन्न उजुरीको छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा सदस्यदेखि उपप्रमुखसम्म ८ जनाको उम्मेदवारी बदर गरिदिएको हो ।

उम्मेदवारी बदर हुनेमा स्वतन्त्रबाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका बसन्त खड्का, वडा नम्बर ३ को अध्यक्षका लागि उम्मेदवारी दिएकी विवेकशील साझाकी लिला तामाङ, वडा नम्बर १९ को सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका रोहन खड्गी, यही वडाको महिला सदस्यमा उम्मेदवारी दिएकी लोकमाया शाक्य, वडा नम्बर ६ को महिला वडासदस्यमा उम्मेदवारी दर्ता गराएकी चन्द्रमाया श्रेष्ठ छन् ।

यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी थापा, वडा नम्बर ८ को सदस्यमा मनोनय दर्ता गराएका पञ्च महर्जन र वडा नम्बर ८ मै महिला सदस्य बन्न उम्मेदवारी दिएकी केशरी महर्जनको उम्मेदवारी बदर भएको बताइएको छ ।

कांग्रेसबाट महानगरकाे मेयरमा उम्मेदवारी दर्ता गराएका चिरीबाबु महर्जन र एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध पनि उजुरी परेको थियो ।

ललितपुर महानगरपालिकाकाे मेयर छँदाकाे बेरुजु फर्छ्याैट नगरी अर्काे चुनावमा उठेकाे भन्दै चिरीबाबुविरुद्ध परेकाे उजुरीमा कार्यालयले महर्जनसँग जवाफ मागेकाे थियाे । उनले जवाफ दिइसकेका छन् ।

यसैगरी, ललितपुर महानगरमै एमालेका तर्फबाट उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध पनि उजुरी परेकाे छ । उनले पनि जवाफ पेस गरिसकेकी छन् । ०७४ सालको प्रदेशसभा चुनावकाे समानुपातिकतर्फ बन्द सूचीमा राखिएकाे नाम नहटाई उम्मेदवारी दर्ता गरेको भन्दै स्थानीय ज्ञानबहादुर खत्रीले उजुरी मञ्जलीकाे उम्मेदवारीविरुद्ध उजुरी दिएका थिए ।

ललितपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४ उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन अधिकृतकाे कार्यालयले छानबिन गरिरहेकाे छ ।