गर्भपतन गराउने डाक्टरलाई जेल हाल्छौं : लालबाबु पण्डित
काठमाडौं-
वातावरणमन्त्री लालबाबु पण्डितले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्ने डाक्टरलाई जेल हाल्ने बताएका छन्।
बाल तथा स्त्रीरोग विशेषज्ञ एवं जनस्वास्थ्य विज्ञहरुको साझा संस्था पेरिनेटलर सोसाइटि अफ नेपालको एघारौं सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री पण्डितले भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध भएको बताएका हुन्।
‘लिंग पहिचान गरेर गर्भपतन गर्ने डाक्टरलाई हामी अब जेल हाल्छौं,’ उनले भने, ‘हामीसँग यसको कानुन पनि छ तर पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन। तर, अब कार्यान्वयनमा ल्याइन्छ ।’
उनले लिंग पहिचान गरेर कारबाहीमा परेका डाक्टरलाई डाक्टरहरुकै संस्थाले जोगाउन नहुने पनि बताए। ‘अपराध गर्ने डाक्टरलाई कारबाहीको दायरामा ल्याउँदा अरु डाक्टर तथा डाक्टरको संस्थाले बचाउनु हुँदैन,’ उनले भने, ‘यसमा तपाईँहरुजस्ता डाक्टरहरुले पनि सहयोग गर्नुपर्छ।’
उनले आफू स्वास्थ्य मन्त्री नभए पनि यो विषयको कार्यान्वयनका लागि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजाने पनि जानकारी दिए।