फेरी जंगिए लालबाबु पण्डित - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

फेरी जंगिए लालबाबु पण्डित



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मूल काम अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

‘बर्खा सकियो अब विकास निर्माणका कामहरू पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ । संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरूले अघि सारेका बजेटहरू पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन् । सरकारले परिणाम दिने गरी धमाधम काम गरिरहेको छ ।’ मन्त्री पण्डितले परिस्थिति र प्रसंगले गर्दा विकास निर्माणका काममा केही ढिलासुस्ती भए पनि अब त्यस्तो नहुने विश्वास दिलाए ।

पण्डितले मुलुक केन्द्रबाट संघीय प्रणालीमा रूपान्तरण भएकाले रूपान्तरणका लागि गर्नुपर्ने केही काम भइसकेका र केही काम बाँकी रहेको बताए ।

‘अब बाँकी कामहरू पनि पूरा हुन्छन् । संघीय, प्रादेशिक र स्थानीय कानुनहरू पनि निर्माणको चरणमा छन्, कानुन एकै रातमा बन्ने कुरा होइन,’ उनले भने, ‘प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरू संसद्मा छन् । कतिपय निर्माण भइसकेका छन् ।’ संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनको भनाइ थियो । उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ, अरू थुप्रै ऐन प्रक्रियामा छन् ।’

अहिले देखिएका केही जटिलता सरकारको ध्यानमा रहेको सुनाउँदै यी सबै समस्याहरूलाई समाधान गर्ने उनको विश्वास थियो । उनले भने, ‘जनताको चाहना र भावना भनेको नै सुशासन, न्याय र विकाससँग जोडिएका छन् । यी सबै काममा यो सरकारले सफलता प्राप्त गर्छ ।’ चाडपर्वले हाल थोरै काम अलमलमा परेको भए पनि अब सरकारका कामहरूले गति लिने उनको स्पष्टोक्ति थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरू तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकाले आफूहरू त्यहीअनुसार अघि बढिरहेको उनको भनाइ थियो । उनले भने, ‘काम गरेर नै हामी जनतामा भएका असन्तुष्टिहरू सन्तुष्टिमा परिणत गर्छौं ।’ कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको पनि उनले उल्लेख गरे ।