मुख सम्हालेर बोल्न मुख्यमन्त्री राउतलाई शिक्षामन्त्री पोखरेलको चेतावनी ! - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मुख सम्हालेर बोल्न मुख्यमन्त्री राउतलाई शिक्षामन्त्री पोखरेलको चेतावनी !



काठमाडौं । एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच वाकयुद्ध शुरु भएको छ ।

महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध भएको हो । एसईई गराउने जिम्मेवारी लिएर पनि संघीय सरकारका मन्त्री पोखरेलले राम्रोसँग कार्य नगरेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा मागेका छन् ।

मुख्यमन्त्री राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेल आक्रोशित बनेका छन् । पोखरेलले राउतलाई पदीय हैसियत सिकाएका छन् ।

त्यति मात्रै होइन मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारलाई बदनाम गराउन षड्यन्त्र गरेरै एसईईको प्रश्नपत्र आउट गराएको अभियोग लगाएका छन् । मुख्यमन्त्री राउतको यो अभियोगमा कुनै दम छैन ।

तर, मुख्यमन्त्री राउतले एसईई परीक्षा राम्रोसँग गराउन नसक्ने र प्रश्नपत्र आउट हुँदा पनि जिम्मेवारीमा बस्न रुचाउने शिक्षामन्त्री पोखरेलको राजीनामा माग गर्नु राजनीतिक रुपमा उचित रहेको टिप्पणी भएका छन् । राउतले एसईईको प्रश्नपत्र आउट भएपछि नैतिकताको आधारमा शिक्षामन्त्री पोखरेलले राजीनामा दिनुपर्ने तर्क राख्नु उचित भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।

यता, शिक्षामन्त्री पोखरेलले संघीय सरकारको बदनाम गराउन र सहज रुपमा भएको एसईईको परीक्षालाई केही तत्वले बिथाल्न खोजिएको दाबी गरेका छन् । त्यो कुन तत्व हो एसईई परीक्षा बिथोलेर सरकारको बदनाम गराउन खोजेको विषयमा भने पोखरेलले स्पष्ट भनेका छैनन् ।

नेपाली रेडियो नेटवर्कको बसह कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरा गर्दै शिक्षामन्त्री पोखरेलले मुख्यमन्त्री लालबाबु राउतले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।

‘मैले राजीनामा दिँदैन । सरकार र संघीयतालाई असफल बनाउन प्रश्नपत्र आउट भएको छ’, पोखरेलले भनेका छन्, ‘मुख्यमन्त्री जस्तो व्यक्तिले गैरजिम्मेवारी रुपमा अभिव्यक्ति दिनु हुँदैन । मुख सम्हालेर बोल्नुपर्छ । पदीय जिम्मेवारीलाई भुल्नु हुँदैन ।’

‘प्रश्नपत्र आउट गराउने दोषी को हो पहिला त्यसलाई खोजेर कारबाही गर्नुपर्छ’, उनले भने, ‘प्रश्नपत्र संघीय सरकारले बनाएको हो । बजेट, अनुगमन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो ।’ मुख्यमन्त्री राउतले माग गरेअनुसार सात सय ५३ वटा स्थानीय निकायमा परीक्षा बोर्ड बनाउन नसकिने शिक्षामन्त्री पोखरेलले बताए ।

शिक्षामन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतले नै एसईईको परीक्षाको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा गएर प्रदर्शन गर्ने विद्यार्थीको पनि आलोचना गरेका छन् । ‘प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा जाने होइन’, उनले भने, ‘परीक्षाको तयारी पो गर्नुपर्छ । सडकमा गएर प्रदर्शन गर्नु राम्रो होइन ।’