लखनउ: हिन्दू अध्यक्षको हत्या, आदित्यनाथमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

लखनउ: हिन्दू अध्यक्षको हत्या, आदित्यनाथमाथि गम्भीर आरोप



काठमाडौं- भारतको उत्तर प्रदेशमा भारतीय हिन्दू नेतालाई गोली हानिएको छ। उत्तर प्रदेशको राजधानी लखनउमा आइतवार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनलाई गोली हानेर हत्या गरिएको छ ।

लखनउको हजरतगञ्जमा मर्निङ वाक गरिरहेका बेला बच्चनको हत्या गरिएको हो । उनीसँगै वाक गरिरहेका उनका भाइ समेत गोली लागेर घाइते भई अस्पतालमा भर्ना भएका छन् ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाले बच्चनको हत्या भएको पुष्टि गरे । ‘मोटरसाइकलमा आएका बदमासहरूले बच्चनको टाउकोमा गोली हाने, जसबाट उनको मृत्यु भयो,’ अरोडाको भनाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

बच्चनको हत्या गरिएको क्षेत्र लखनउको संवेदनशील क्षेत्र हो । सोही क्षेत्रमा विधानसभा सचिवालय र धेरै सरकारी कार्यालय, मन्त्री निवास रहेका छन् ।

यूपी प्रहरीका ८ वटा टोलीले घटनाको अनुसन्धान गरिरहेका जनाइएको छ । मृतक बच्चन समाजवादी पार्टीको राजनीति गर्थे, उनी प्रदेश सरकारमा राज्यमन्त्री समेत भइसकेका थिए । उनले स्थापना गरेको विश्व हिन्दू महासभामा उनी राष्ट्रिय अध्यक्ष थिए ।

समाजवादी पार्टीले घटनाको निन्दा गर्दै योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारमाथि प्रश्न गरेको छ । प्रदेश राजधानीमा दिनदहाडै हत्याको घटना हुँदा सर्वसाधारणमा त्रास फैलिएको पार्टीले जनाएको छ । पार्टीले मुख्यमन्त्री योगीको राजीनामा मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष १८ अक्टुबरमा हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्ष कमलेश तिवारीको घरमा प्रवेश गरेर हत्या गरिएको थियो । तिवारीका हत्यारा गेरुवस्त्रमा आएका थिए भने मिठाइको बट्टामा पेस्तोल र चक्कु लुकाएर ल्याएका थिए ।