लाहुरे अर्थतन्त्रको करामत
काठमाडौं- नेपाली युवा शक्ति कामदारका रूपमा ठूलो संख्यामा विभिन्न मुलुकमा छन् । मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन । राज्यले काम दिन नसकेका मान्छे मलेसिया, कतार, दुबईलगायत मुलुकहरूमा श्रम गरेर घरमा रकम पठाइरहेका छन् । त्यही रेमिट्यान्सले परिवारको मात्र होइन, नेपाली अर्थतन्त्रको पनि विगत दुई दशकदेखि भरथेग गर्दै आएको छ ।
विदेशबाट पठाएको रेमिट्यान्स खर्चिदिएर नै नेपालका व्यवसायहरू चलेका हुन् । नेपालमै बसेर जग्गा, सवारी साधन, लत्ताकपडा, खाद्यान्न सामग्रीलगायत होटल रेस्टुरेन्ट, कलकारखाना, उद्योगधन्दा, अस्पताल, निजी विद्यालय, बैंक, वैदेशिक रोजगारी व्यवसाय तीव्र रूपमा फस्टाउनु त्यही लाहुरे अर्थतन्त्रको करामत हो; अर्थात् वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएका रेमिट्यान्स ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७-०७८ को माघ मसान्तसम्मको सात महिना अवधिमा मात्रै ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ महिनामा मात्रै ६१ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसबाटै पनि थाहा हुन्छ, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ।
कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएको बेला नेपालमा रेमिट्यान्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिट्यान्स आय घटेर आउने अनुमान गरिए पनि उल्टै सात महिनाको अवधिमा झन्डै ११ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिट्यान्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । तर, नेपालमा त्यस्तो अनुमान गरिएजस्तो असर परेन । तर, विदेशीले नेपालमा गर्ने खर्चमा भने झन्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब १ करोड रुपैयाँ आय भएकोमा यस सात महिनामा जम्मा ३ अर्ब ८७ करोड रुपैयाँमात्र आय भएको छ ।
मुलुकको अर्थतन्त्र रगत र पसिनासँग साटेको रेमिट्यान्सबाट सुरक्षित छ, तर ती आर्थिक उत्पादन र विकासको मेरुदण्ड युवा आफैँ भने असुरक्षित छन् । मृत्यु र अंगभंग आयात डरलाग्दो छ । रेमिट्यान्स मात्र भित्रिएको छैन, समृद्ध नेपाल सुखी नेपालीको एकोहोरो रटान लगाउने सरकारले नदेखेझैँ गर्ने डरलाग्दो पाटो छ । अघिअघि रेमिट्यान्स पछिपछि बाकसमा शवका रूपमा (कफिन) प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औसतमा सरदर तीन जना भित्रिन्छन् ।
नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा रेमिट्यान्सको रकमले ठूलो उथलपुथल नै ल्याएको छ । रेमिट्यान्सले ग्रामीण तहमा लगानी र आर्थिक गतिविधि भइरहेको छ । वैदेशिक व्यापारघाटा चरम अवस्थामा रहेको वर्तमान सन्दर्भमा रेमिट्यान्सको आप्रवाह नहुँदो हो त हाम्रो देशको भुक्तानी सन्तुलनको अवस्था कति भयावह हुने थियो, सहजै अनुमान गर्न सकिन्छ । तर, उत्पादनमूलक क्षेत्रमा दिन–प्रतिदिनको ह्रासले व्यापार घाटा उकालो लागिरहेकाले रेमिट्यान्सको आम्दानी पनि घट्दा त्यसले देशको अर्थतन्त्रमा टाल्नै नसक्ने भ्वाङ पर्न सक्छ । राजस्व बढेको छ । तर, जुन बेला रेमिट्यान्स घट्छ सोही बेलादेखि गरिबी बढ्ने मात्र नभई त्यसको प्रत्यक्ष असर उपभोगमा पर्ने र सरकारले उठाउने राजस्वमा सम्म पर्ने निश्चित छ । तथापि तत्कालको लागि भने धानिरहेको छ ।
रगत पसिना बगाएर केटौले उमेरमा विदेशी भूमिमा पुगेको युवा चाउरी परेका गालासहित थकित मुद्रामा स्वदेश फर्कंदा उसले पठाएको रेमिट्यान्सको उपयोगिता भने विलासितामा नै बढी खर्च भएको हुन्छ । उसले कमाएको पैसा ऋण तिर्न, दैनिक उपभोग्य वस्तु खरिद, शिक्षा, स्वास्थ्य, सवारी साधन र घरजग्गा किन्नमा बढी उपयोग हुँदै आएको छ । कृषिप्रधान देशले चामल, तरकारी, फलफूलदेखि दूधसम्म खरिद गरिरहेको छ । यसरी विदेशबाट पैसामात्र होइन, दैनिक उपभोग्य सामानदेखि महँगा सवारी साधन, मदिरालगायत चाहेको सामग्रीहरूसमेत खरिद गर्न पाएको रेमिट्यान्सले नै हो । रेमिट्यान्ससँगसँगै विदेशबाट गरिबीको रेखाबाट माथि उक्लन सघाउ, देशको आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, विदेशी मुद्रा आर्जन, सीप, दक्ष जनशक्तिको उपलब्धता, प्राविधिक विज्ञता र क्षमता विकास पनि भित्रिएको छ । तर, यो अल्पकालीन भएको विज्ञहरू बताउँछन् । राजस्व बढेको छ, तर जुन बेला रेमिट्यान्स घट्छ सोही बेलादेखि गरिबी बढ्ने मात्र नभई त्यसको प्रत्यक्ष असर उपभोगमा पर्ने र सरकारले उठाउने राजस्वमा सम्म पर्ने निश्चित छ ।
झट्ट हेर्दा बेफाइदाभन्दा मुलुकको अर्थतन्त्रमै महत्वपूर्ण योगदान दिएको देखिए पनि राज्यले ठूलो सामाजिक मूल्य चुकाउनुपरेको यथार्थ पनि छ । गरिबी निवारण, औसत आयुमा वृद्धि, स्वदेशी अर्थतन्त्र विस्तार, अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि भएको देखिए पनि कालान्तरमा यसले आत्मनिर्भर होइन, परनिर्भर अर्थतन्त्रको निर्माण गरिरहेको छ । वैदेशिक रोजगारीमा जाने–आउने संख्या, रोजगारीमा गएका मुलुकहरूमा आर्थिक, राजनीतिक तथा रोजगारीसम्बन्धी नीतिगत व्यवस्थामा हुने परिवर्तनले नेपालमा आउने रेमिट्यान्समा पनि घटबढ भइरहेको देखिन्छ ।
बढ्दो रेमिट्यान्सले देशको उत्पादन, रोजगारी र सामाजिक परिस्थितिको अर्थतन्त्रको पनि चित्रित गर्छ । यसले आफू उत्पादन नगर्ने, उपभोगमा धेरै खर्च गर्ने र अवसर नभएपछि देश छाडेर हिँड्ने अवस्थालाई पनि बुझाउँछ । वैदेशिक रोजगार आन्दानीको दिगो स्रोत होइन । श्रम बजारमा आउने फेरबदलले यसमा प्रभाव पार्छ नै । मलेसिया, कतार, बहराइन, साउदी अरब, युएईजस्ता मुलुक हाम्रा प्रमुख श्रम गन्तव्य हुन् । हाल नवनिर्माणको चरणमा रहेकाले यी देशलाई नेपाली कामदार आवश्यक परिरहेको छ, जसको आपूर्ति नेपालले गराउँदै आयो । तर, अब यी देशमा कामदारको माग सधैं एउटै अवस्थामा ररिहन सक्दैन । यस्ता देश विकसित मुलुकको काँटीमा पुग्दै गर्दा त्यहाँ पनि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । नेपालमा प्राविधिक सीप जानेका शिक्षित जनशक्तिको कमी छ । श्रम गर्न जाने अधिकांश नेपाली अदक्ष वा अर्धदक्ष कोटीका हुन् । पूर्वाधार निर्माणको चरणमा यस्ता जनशक्ति काम लागे पनि बिस्तारै उनीहरूको उपादेयता हराउँदै जान्छ ।
अब वैदेशिक रोजगारीबाट फर्केर आएका युवाको ज्ञान र सीपलाई उपयोगमा ल्याउने नीति तर्जुमा गर्नुपर्ने अहिले खाँचो छ । त्यसैले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित तवरले अघि बढाउने हो भने राज्यस्तरमा संरचनागत परिवर्तन गर्नु अपरिहार्य भइसकेको छ । ऊर्जाशील युवा शक्तिलाई विदेश पठाएर रेमिट्यान्सको भरमा देश चलाउने सोचमा पनि बिस्तारै परिवर्तन ल्याउन जरुरी छ । उनीहरूलाई आफ्नै देशको विभिन्न उत्पादन क्षेत्रहरूमा परिचालन हुने वातावरण तिनै तहका सरकारहरूले निर्माण गर्नुपर्छ । त्यसका लागि कृषि र पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमशीलतासँगै ठोस नीति तथा कार्यक्रम ल्याउनु जरुरी छ । रेमिट्यान्सको सदुपयोग गर्न राज्यले नै एउटा निश्चित कार्ययोजना तय गरेर कार्यान्वयनमा जोड दिनुपर्छ । नेपालमा सधैं युवाको संख्या यसरी नै रहिरहन्छ भन्ने छैन र नेपालीका लागि सधैं विदेश जान पाइरहने अवस्था रहिरन्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यसैले रेमिट्यान्सको चिन्ता गरिरहँदा यससँग सम्बन्धित यस्ता विषयहरूप्रति पनि गम्भीर बन्नैपर्छ । शिवराज खड्काले कारोवारमा लेखेका छन् ।