सुरक्षा परिषद् बैठक लगत्तै आकस्मिक मन्त्रीपरिषद्को बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै आकस्मिक रूपमा मन्त्रीपरिषद्को बैठक डाकेका छन् ।
मंगलबार बिहान ९ बजे सुरक्षा परिषदको बैठक बालुवाटारमा बोलाइएको छ । एक मन्त्रीका अनुसार सुरक्षा परिषद् बैठक सकिए लगत्तै बस्नेगरी मन्त्रीपरिषद् बैठक पनि बोलाइएको छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्नेगरी बोलाइएको हो ।
स्रोतका अनुसार प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ । उक्त बैठकमा विप्लवबारे समेत छलफल हुनसक्ने बताइएको छ।
सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेपछि सरकारले अनेक तयारी गरिरहेको बुझिएको छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री,अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा रहेका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।