वामदेवका कारण नेकपामा लफडा ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वामदेवका कारण नेकपामा लफडा !



काठमाडौं । नेकपाका नेता बामदेव गौतमलाई कुनै हिमाली जिल्लाबाट उपचुनाव जिताएर संघीय संसदमा भित्र्याउने कुराले सत्तारुढ दलभित्र ठूलै कम्पन उत्पन्न भएको बुझिएको छ। खासगरी गौतमले उपचुनाव लड्ने प्रसंगले पूर्व माओवादी केन्द्र बृत्तमा निकै चर्चा पाएको थाहा भएको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच गौतमले उपचुनाव लड्ने बिषयमा ठोस संवाद हुन बाँकी रहेको जानकार सूत्रले बताएको छ। तर पूर्व एमाले बृत्तका युवा नेताहरु भने गौतमलाई संसदमा भित्र्याएर सरकारको वैकल्पिक नेतृत्व तयार गर्नु आवश्यक रहेको भन्दै त्यसका लागि सक्रिय भएको बताईन्छ। युवाहरुको यस्तो सक्रियता र मनसायबाट प्रधानमन्त्री ओली भने सतर्क बनेको स्रोतको भनाई छ।

त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि गौतमलाई उपचुनाव लडाउने चर्चाबाट निकै तनावमा परेको बताईन्छ। वैकल्पिक प्रधानमन्त्रीको रोलक्रममा रहेका भनिएका दाहाललाई यो चर्चाले उनको कान तातिएको छ भने त्यो अन्यथा पनि नहुने जानकार स्रोतले बताएको छ।

 गौतमलाई संसदमा ल्याउने भित्री तयारीमा लागेका गौतम निकट स्रोतका अनुसार वामदेवलाई उपचुनाव लडेर सांसद बन्नुपर्छ भन्नेहरुको संख्या पूर्व एमालेभित्र निक्कै ठूलो छ। वामदेव निकट एक नेताको भनाई छ, ‘पश्चिम नेपालका केही सांसदहरुले वामदेव पुन चुनाव लडेर सांसद बन्नुपर्छ भन्दै आफू राजीनामा दिन तयार रहेको र सो ठाउँमा वामदेवलाई उपचुनाव लडाउन तयार रहेको बताएका छन्।’

त्यसरी सांसद पदबाट राजीनामा दिन तयार हुने सांसदहरु कोको हुन् भन्ने चाहिँ उनले बताएनन्। स्रोत भन्छ, माओवादीका एकजना सांसद पनि बामदेवलाई ठाउँ छाडिदिनका लागि राजीनामा दिन तयार छन्।

प्रत्यक्ष निर्वाचित सांसदले पदबाट राजीनामा दिएमा सो क्षेत्रमा उपचुनाव हुने व्यवस्था छ।

वामदेवले गत चुनावमा जितेका भए प्रधानमन्त्री पदमा दावी गर्ने थिए। उनले आफू भावी प्रधानमन्त्री भनेर घोषणा समेत गरिसकेका थिए। तर, आश्चर्यजनक र रहस्यमय रुपमा वामदेवले वर्दियाबाट चुनाव हारे। उनलाई कांग्रेसका सञ्जय गौतमले हराएका हुन्। मत परिणाम आउनु अघिसम्म वामदेवलाई पूर्व एमालेले ‘निश्चित जित्ने’ उम्मेदवारको सूचीमा राखेको थियो।

वामदेवले जितेका भए पूर्व एमालेभित्रको गुटगत समीकरणमा ठूलो फेरबदल आउने थियो भन्छन् वामदेव निकट नेताहरु। उनीहरुका अनुसार वामदेवले प्रधानमन्त्री पद निश्चित रुपमा दावी गर्ने थिए, वामदेवलाई माधव नेपाल समूह र झलनाथ समूहले पनि सघाउने थियो। त्यसबाहेक पूर्व माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि ओलीलाई भन्दा वामदेवलाई नै प्राथमिकता दिने थिए। तर, वामदेवले चुनाव हारे।

झण्डै प्रधानमन्त्री बनेका

अघिल्लो संसदकालमा वामदेवलाई केपी ओलीले प्रधानमन्त्री पदका लागि भित्रभित्रै तयार बनाएर राखेका थिए। स्रोतहरुका अनुसार एमालेको सरकार बन्ने अवस्था आए वामदेवलाई प्रधानमन्त्री बनाउने पक्षमा थिए ओली। आफूलाई मधेसवादीले समर्थन नगर्ने र भारतले पनि बन्न नदिने भएकाले एमालेको तर्फबाट वामदेवलाई प्रधानमन्त्री बनाउने रणनीति ओलीले अपनाएका थिए।

यही कारण गत वर्षदेखि वामदेवले चर्का कुरा बोल्न छाडेका थिए। भारतीय हस्तक्षेपको विरोधमा पनि बामदेवले बोल्न छाडेका थिए । बोल्नुपर्छ भनेर उनी सार्वजनिक कार्यक्रममा सामान्यतया जाँदैनथे। वामदेव निक्कै संयमित भएर बसिरहेका थिए। उनको बाहिरी गतिविधि खासै देखिँदैनथ्यो। तर, अघिल्लो संसदीय कालखण्डमा ओली नेतृत्वको सरकार गिरेपछि एमालेले सरकार बनाउने मौका नै पाएन। वामदेवले प्रधानमन्त्री बन्ने मौका पाउने कुरै भएन।

सबैभन्दा सक्रिय वामदेव

पूर्व एमालेभित्र सबैभन्दा सक्रिय नेता मानिन्छन् वामदेव गौतम। अध्यक्ष केपी ओली सबैभन्दा धेरै कोसँग तर्सन्छन्? जवाफ हो– बामदेव गौतम। ओलीसँग ठाडठाडै मुख लागेर, हप्कीदप्की गरेर बोल्न सक्ने त्यस पार्टीमा बामदेव मात्र हुन्। जानकारहरु भन्छन्, ओलीसँग ठाडै अडान लिने भनेर बामदेव चर्चित छन्।

ओलीलाई प्रधानमन्त्री बन्न सघाएका र त्यसपछि पनि ओलीलाई निरन्तर सघाउँदै आएका वामदेवलाई नेतृत्व वृत्तले निक्कै इमान्दार नेता मान्छ। ‘वामदेव छलकपट गर्नुहुन्न, जे कुरा पनि ठाडै र प्रष्ट भन्नुहुन्छ, त्यसैले ओलीले पनि विश्वाश गर्नुहुन्छ ।’ एक नेताले यस्तो टिप्पणी गरे। त्यही भएकाले ओलीले पनि अघिल्लो संसदीय कालमा वामदेवलाई प्रधानमन्त्री बनाउन खोजेका थिए।

त्यसबेला एमालेले सरकार बनाउने मौका पायो भने वामदेव प्रधानमन्त्री बन्छन् भन्ने पार्टीभित्र सबैले अनुमान गरेका थिए। त्यसैले वामदेवको शक्ति बढेको थियो। त्यस पार्टीका नेताहरुमध्ये ओलीपछि सबैभन्दा धेरै कार्यकर्ताको भीड लाग्ने वामदेव निवासमा हो।

असाध्यै बोलक्कड र मनमा लागेको कुरा कुनै मोलाहिजा नराखी भन्ने वामदेव निकै लामो समयदेखि मौन बसेका थिए, प्रधानमन्त्री बनिन्छ भनेर। बाहिर मौन बसे पनि नेताहरुमध्ये सबैभन्दा सक्रिय वामदेव नै थिए भन्छन् उनी निकट एक नेता। गत चुनावमा टिकट बाँड्दा ओलीपछि सबैभन्दा कोही हावी भयो भने वामदेव नै भएका थिए। झन्, समानुपातिकको लिष्ट बनाउँदा वामदेव जति सक्रिय अरु नेता हुन सकेनन्।

वामदेवले ओली गुटलाई पनि आफ्नो बनाए, माधव र झलनाथलाई पनि निकटमा राखे। त्यसैले चुनावमा आफ्नाहरुलाई अत्यधिक संख्यामा टिकट दिलाउन र समानुपातिकमा पार्न सके भन्छन् वामदेव निकटहरु।

वामदेवले बेग्लै गुट चलाए पनि आफूलाई सहयोग गरिरहेकाले ओलीले वामदेवलाई निक्कै प्रोमोट गरिरहेका थिए। तर, चुनाव लागेपछि ओली र वामदेवको बाटो फाट्यो। आफू प्रधानमन्त्री बन्न नसक्ने स्थितिमा मात्र पार्टीको तर्फबाट वामदेवलाई अगाडि बढाउन चाहेका थिए ओलीले, नयाँ चुनाव भएपछि पनि वामदेवलाई अगाडि बढाउने पक्षमा थिएनन्।

  कतिपयको भनाई अनुसार वामदेवलाई चुनाव हराउन ओलीको गुटले निक्कै मेहेनत गरेको थियो। वर्दियामा चुनावी सभामा वामदेवले आफूलाई भावी प्रधानमन्त्री भनेपछि ओलीको गुट तर्सियो र चिढियो। त्यसबेला वामदेवले चुनाव हार्नुमा ओली गुटको असहयोग पनि एउटा कारण मानिएको छ।

तैपनि चुप वामदेव !

ओली गुटले आफूलाई चुनाव हराउन प्रयास गरेको वामदेव गुटको भनाई छ। तर, वामदेव जस्ता हक्की र कडा स्वभावका नेता यसबारेमा केही बोलिरहेका छैनन्। स्रोत भन्छ, फेरि चुनाव लड्नुपर्छ भनेर वामदेवले पार्टीका कसैलाई पनि नचिढ्याउने नीति लिएका छन्। त्यही भएकाले अहिले पनि उनी मौन छन्।

तर, वामदेवले चुनाव लड्न सजिलो भने छैन। वामदेव निकटहरु भन्छन्, वामदेव कुनै न कुनै रुपमा उपचुनाव लड्नुहुन्छ र प्रधानमन्त्री बन्नुहुन्छ।