लद्दाखमा फेरि भारत र चीनबीच भिडन्त
एजेन्सी- भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।
भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ ।
चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको उसको दावी छ । चिनियाँ सेनाले सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।
भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको विषयमा जानकारी दिएको छ ।
ब्युरोले भनेको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहट कदमलाई रोकिदिएको छ । भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ । साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ ।’
भारतीय सेनाका अनुसार हालैको झडप दुई दिन अगाडि अगष्ट २९ को राति भएको थियो । चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितिलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतीय सेनाको भनाइ छ । यसअघि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो ।