शुक्रबारदेखि ला लिगा रोनाल्डो बिना सुरु ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शुक्रबारदेखि ला लिगा रोनाल्डो बिना सुरु !



स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । युरोपको शीर्ष लिग मध्ये एक र विश्वभर समर्थक रहेको ला लिगाको नयाँ सिजनको सुरुवातको दिन दुई खेल भए । लेभान्टेले जितसहित लिगमा राम्रो सुरुवात गरेको छ ।

अवे मैदानमा भएको खेलमा लेभान्टेले रियल बेटिसलार्य ३–० ले हरायो । लेभान्टेको जितमा रोजर मार्टी र जोसे लुइस मोरालेसले गोल गरे । ३८ औँ मिनेटमा रोजरको गोलबाट लेभान्टेले सुरुवाति अग्रता लियो ।

५४ औँ मिनेटमा गोल गर्दै मोरालेसले टिमको अग्रता दोब्बर पारे । इन्जुरी समयको पाँचौँ मिनेटमा मोरालेसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेभान्टे ३–० ले विजयी भयो ।

अर्को खेलमा जिरोना र रियल भालाडोलिडबिच प्रतिस्पर्धा भयो । रियल भालाडोलिड फेरि ला लिगामा फर्किएको हो । अवे मैदानमा भएको पुनरागमनपछिको पहिलो खेलमा भालाडोलिडले जिरोनालाई गोलरहित बराबरीमा रोक्यो ।

ला लिगाको नयाँ सिजन पछिल्लो १० वर्षमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पहिलो सिजन हो । ९ वर्ष रियल मड्रिडको बसाईपछि रोनाल्डो यहि सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका छन् ।