डीभिलीयर्सले कमाल गरेपछि पंजावलाई २०३ को लक्ष्य
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई जितका लागि २०३ रनको फराकिलो लक्ष्य दिएको छ ।
एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।
घरेलु मैदानमा आज बैंगलोर चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । लिगको पुछारमा रहेको बैंगलोरको १० खेलबाट ६ अंक रहेको छ ।
यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोर पन्जाबलाई हराउँदै लय समात्न चाहन्छ । यस्तै बैंगलोर पन्जाबविरुद्ध लगातार जित निकाल्न चाहन्छ ।
यस सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।
यता, पन्जाब घरेलु टोलीसंग बदला लिने योजनासहित मैदान उत्रनेछ । यस्तै पन्जाब बैंगलोरलाई हराएर प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ ।
पाँचौं स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।