राजदूत क्वात्राले प्रचण्ड र नेपालसँग छलफल गरेर हिँडेका थिए दिल्ली
काठमाडौं- स्थलमार्गबाट दिल्ली पुगेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपाका दुई शीर्ष नेतासँग परामर्श गरेको खुलेको छ ।
नयाँ दिल्ली जानुअघि राजदूत क्वात्राले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरी सीमा समस्या र नेपाल भारत सम्बन्धबारे परामर्श गरेको स्रोतले बताएको छ ।
दुई देशबीच बिग्रिएको सम्बन्ध र सीमा समस्याबारे बिबाद उत्कर्षमा पुगेका बेला राजदूत क्वात्राले यहि मंगलवार नेता नेपालसँग उनकै निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । त्यसअघि राजदूत क्वात्राले सोमवार प्रचण्डनिवासमै पुगेर भेटवार्ता गरेका थिए ।
दुवै भेटवार्तामा राजनीतिक घटनाक्रम तथा दुई देशबीचको आपसी सम्बन्धको विषयमा छलफल भएको थियो । दुई देशको सीमा विवाद राजनीतिक तबरबाट हल गर्नुपर्छ भन्नेबारे छलफल भएको बताइएको छ ।
दुई नेताहरू संगको भेटमा क्वात्राले अहिलेसम्म कर्मचारी संयन्त्रबाट भएका प्रयास असफल भएको र अब पनि कर्मचारी संयन्त्रलाई अगाडी बढाउन नहुने बताएको खुलेको छ । यस्तै पाराले सीमा विवाद समाधान हुन नसक्ने भन्दै क्वात्राले राजनीतिक तहमा कुरा अगाडि बढाउन आग्रह गरेको स्रोतले बतायो ।
नेपाल–भारतबीच राजदूत र सचिव स्तरको संयन्त्रको बैठक भएकै दिन भारतीय राजदूतले प्रचण्डसँग भेट गरेका थिए । सो बैठकमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको कार्य प्रगतिबारे छलफल भएको थियो ।
भारतको ७३ औं स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन कुराकानी भएको थियो । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीच देखिएको संवादहीनता साउन ३१ गते शनिवारदेखि अन्त्य भएको थियो ।