घरमै स्वादिष्ट क्वाँटी कसरी बनाउने !
काठमाडौं । जनैपूर्णिमा अर्थात रक्षा बन्धन देशभर मनाइँदै छ । नेवार समुदायले पनि अाज गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछन् । अाजकाे दिन नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेका छन् । यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो ।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।
तर परिकार बनाउँदा त्यसकाे तरिका र मात्रा मिलेन भने पनि स्वादिष्ट नहुन सक्छ । त्यसैले हामीले यहाँ घरमै मिठाे क्वाँटी बनाउने तरिका बारे चर्चा गर्दै छाैँ ।
हुन त क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन्। कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन्। कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन्। यसमध्ये हामीले भने यहाँ शाकाहारी क्वाँटी बनाउने तरिका सिकाउँदैछाैँ ।
आवश्यक सामाग्री
टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम
ज्वानो– १० ग्राम
सुप– ५ ग्राम
तोरी– ५ ग्राम
करी पाउडर– ५ ग्राम
काटेको/पिनेको लसुन– १० ग्राम
काटेको/पिनेको अदुवा– १० ग्राम
ताजा हरियो/ रातो खुर्सानी– ५ ग्राम
बेसारको धुलो– ५ ग्राम
काटेको प्याज– २० ग्राम
काटेको गोलभेडा– ४० ग्राम
नुन -स्वाद अनुसार
काटेको हरियो धनियाँ– ५ ग्राम
क्वाँटी तयार गर्ने तरिका
दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्
प्रेसर कुकरमा तेल तताउनुहोस्।
तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो/हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस्।
अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस्।
करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।
केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस्।
ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।
क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।
अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।
क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकिन्छ। साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ।