मेयरको दादागिरीः कर्मचारी, उपमेयर र सदस्यलाई कुटे - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मेयरको दादागिरीः कर्मचारी, उपमेयर र सदस्यलाई कुटे



सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले विहीबार जिन्सी शाखा प्रमुख बलिराम यादवलाई कुटपिट गरेका छन् ।

आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला उनले यादबको गालामा थप्पड हानेका हुन । नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न मेयर पासवानले जिन्सी शाखा प्रमुखलाई दबाब दिंदै आएका थिए ।

बिलबेगर सामानको दाखिला गर्न नमिल्ने भनेपछि मेयरसाबले नियमसियम जे भए पनि मैले भनेको गर भन्दै जेसिबी दाखिला गर्न दबाब दिंदै आएको यादवले बताए ।

‘बिलमा समानको विवरण, खरिद मिति र खरिद रकम सबै उल्लेख हुन्छ,’यादवले भने, ‘बिल नै नभएको सामान कसरी दाखिला गर्नु ? दाखिला नभएसम्म सामानको भुक्तानी दिन मिल्दैन ।’

चार दिन अगाडी नगरपालिकामा खरिद भइ आएको जेसिबीको भुक्तानका लागि मेयर पासवानले हतार गर्दै आएका थिए । तर यादवले भ्याट बिल नभई दाखिला नगर्ने अडान लिएपछि मेयर पासवान हातपातमा उत्रेका हुन ।

कर्जन्हा नगरपालिकाका मेयर पासवानले केही समय अगाडी वडा नम्बर २ का वडासदस्य खगेन्द्र लोकान्द्रे(विक)माथि समेत हातपात गरेका थिए । विकमाथि हातपात गर्दा बचाउन खोज्दा आफूमाथि पनि हातपात गरेको उपमेयर ज्ञानु श्रेष्ठले बताइन । -नागरिक दैनिकबाट