घोडाघोडीमा कुष्ठरोगीको सङ्ख्या १३, निवारणको लागि अभियान सञ्चालन - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

घोडाघोडीमा कुष्ठरोगीको सङ्ख्या १३, निवारणको लागि अभियान सञ्चालन



विशाल पाण्डेय / घोडाघोडी,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकामा १३ जना कुष्ठरोगीहरुले उपचार सेवा लिइरहेका छन् ।

करिब ९० हजार जनसङ्ख्या रहेको घोडाघोडी नगरपालिकामा हाल १३ जना कुष्ठरोगिहरु सम्पर्क आइ उपचाररत रहेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपालमा २०६६ साल माघ ५ गते कुष्ठरोग निवारणको घोषणा गरी प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई निवारण मानिने प्रचनलन भए पनि घोडाघोडी नगरपालिकामा भने १.४ प्रतिशत मानिसहरूले कुष्ठरोग निवारणका लागि औषधि सेवन गरिरहेको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक हेमराज बुढाले जानकारी दिए ।

कुष्ठरोग लागेका मानिसहरूले खुलेर उपचार गर्न नआउँदा कुष्ठरोग निवारण गर्नमा चुनौती भई रोगीको सङ्ख्यामा वृद्धि हुन सक्ने आशङ्का रहेको संयोजक बुढाले हिमाल पोस्टलाई बताए । उनले भने, “सबै मानिसहरूमा यो रोग लागेको सहजै पत्ता लाग्न नसक्ने हुँदा घोडाघोडी नगरपालिकामा कुष्ठ रोगीको सङ्ख्यामा अझै वृद्धि हुन सक्ने समेत आशङ्का गरिएको छ । ”

कैलालीका विभिन्न ठाउँमा कुष्ठरोग निवारण सम्बन्धी विभिन्न किसिमको अभियानहरू चलिरहँदा घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले पनि चैत २० गतेदेखि ३० गतेसम्म नगर भित्र कुष्ठरोग निवारण सम्बन्धी घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखाका सह-संयोजक मीन बहादुर धामिले बताए ।

माइकोब्याक्टेरियम लेप्रे नामको ब्याक्टेरियाको कारणले लाग्ने उक्त रोगमा शरीर छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङ्गको दाग छ, वा हातखुट्टा झमझमाउने लगायतका लक्षण पनि हुन सक्ने हुँदा अभियानका क्रममा सम्पूर्णले सहज रूपमा भन्न तथा दाग देखाउन पनि सह-संयोजक धामिले आग्रह गरे ।

कुष्ठरोग लागेको शुरुवाती चरणमा औषधीको प्रयोगले पूर्ण रूपमा निको हुन सक्ने भए पनि यसलाई बेवास्ता गर्दा भने कालान्तरमा अङ्ग भङ्ग हुने स्थिति समेत आउन सक्ने धामिले बताए । कैलाली जिल्ला भरीको तथ्याङ्कमा पनि प्रति १० हजार जनसङ्ख्यामा १.२ प्रतिशत कुष्ठरोगीहरु रहेका छन् ।