कुर्सी तोडफोड गर्ने सांसद्लाई कारबाही गर्ने कांग्रेसको तयारी
काठमाडौं- प्रदेश पाँचको राजधानी सार्ने बिषयले तातेको प्रदेश सभामा भएको ताण्डव नेपाली कांग्रेसले कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति विपरित भएको सोमबार साँझ ट्विट गरेका छन्।
प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए।
‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्।
उनले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गरेका छन्। ‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ ट्विटमा लेखिएको छ।
संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि कांग्रेसका लागि रोजाइको पद्धति भन्दै प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई `छिटपुट´ भनेर नछोप्ने दाबी गरेका छन्। उनले कठोरतापूर्वक सच्याएर बढ्ने समेत बताएका छन्।
तोडफोड गर्ने सांसदलाई कारबाही गर्ने तयारी
यस्तै नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा उत्रएिका सांसद्माथि कारबाही गर्ने भएको छ । सोमबार प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका तीन जना प्रदेश सांसदहरुलाई कांग्रेसले कारबाही गर्ने भएको हो ।
प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकमाथि कारबाही गरिने केन्द्रीय अनुशासन समिति स्रोतले जनाएको छ ।
उनीहरुले सोमबार बसेको संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गरेलगत्तै कुर्सी र टेबल तोडफोड गरेका थिए ।