बाबुरामले प्रधानमन्त्री र राष्ट्रपतिलाई कुपुत्र-कुपुत्री भनेपछि…
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिलाई कुपुत्र/कुपुत्रीको संज्ञा दिएका छन् ।
भट्टराईले केहि कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएकोले गणतन्त्र धरापमा परेको आरोप लगाएका छन् ।
एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जिन्दगीभरको मेहनत खेर जान लागेकोमा दुःख व्यक्त गरेका हुन् ।
भट्टराईले संसद विघटनको विषयलाई जोडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुपुत्र तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुपुत्री संज्ञा दिएका हुन् । उनीहरुकै कारण गणतन्त्र धरापमा परेको भन्दै खरानी लिन दौडने व्यक्तिहरु यिनै नेताका कार्यकर्ता भएको संकेत गरेका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !’
आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको तर्क गरेका छन् । त्यस्तै, छिमेकी रमिते बनेको कारण उनले लौन आगो निभाउँ भन्दै आफ्नो विचार राखेका छन् ।