प्राधिकरणमा कुलमानलाई नल्याउने प्रधानमन्त्री ओलीको संकेत
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति नगर्ने संकेत दिएका छन् ।
सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने र प्राधिकरणको कार्यकारी प्रमुखमा घिसिङलाई पुनः नियुक्ति नगर्ने चर्चा केही दिनअघि देखि नै चलिरहेको थियो।
तर मन्त्रिपरिषदले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि कुलमानलाई पुनः नियुक्ति गर्ने निर्णय भने गरेन।
मन्त्रिपरिषदमा गौतमलाई सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले पेश गर्दा घिसिङको बारेमा पनि कुरा उठेको एक मन्त्रीले जानकारी दिएका छन् ।
कुलमानलाई पनि पुनः नियुक्ति गर्नुपर्ने विषय ऊर्जामन्त्री बर्षमान पुनले उठाएको र प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया पूरा गरेर मात्र उनलाई नियुक्त गर्न सकिने भन्दै घिसिङको बारेमा उठेको प्रसंग पन्छाएका थिए।
बैठकमा कुलमानको पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि प्रधानमन्त्रीले गम्भिरतापूर्वक नलिएको एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार प्रधानमन्त्री कानुनी प्रक्रियाको कुरा उठाएर आलटाल गरे ।
चार वर्षअघि घिसिङ खुला प्रतिस्पर्धाबाटै नियुक्तका थिए । तर एकपटक खुला प्रतिस्पर्धाबाट आएको व्यक्तिलाई पुनः नियुक्ति गर्न त्यहीँ प्रक्रिया अपनाउनु नपर्ने भए पनि ओलीले भने पुनः खुला प्रतिस्पर्धाबाटै आउनुपर्ने आशय व्यक्त गरेर कुलमानको प्रस्ताव पन्छाएका हुन्।
उता प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहाकारहरुसमेत कुलमानको पक्षमा नरहेको देखिएको प्रष्ट भएको छ । प्रधानमन्त्री ओलीकै प्रेस सल्लाहकार सुर्य थापाले घिसिङ फेरी प्रतिस्पर्धाबाट आउनुपर्ने बताएका छन् ।
सोमबार नेकपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले घिसिङलाई पुनः नियुक्ति दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेपछि थापाले आपत्ति जनाएका छन्।
कुलमानप्रति प्रधानमन्त्री ओली सुरुदेखि नै पुनःनियुक्तिका लागि तयार नभए पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता दिन दबाब दिँदै आएका छन्। त्यस्तै सर्वसाधारणले पनि उनलाई फेरि जिम्मेवारी दिनुपर्ने आवाज उठाइ रहेका छन्।