मोदीको समर्थन गर्दै महेश बस्नेतले भने : कुलमानमाथि छानबिन गर्नुपर्छ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मोदीको समर्थन गर्दै महेश बस्नेतले भने : कुलमानमाथि छानबिन गर्नुपर्छ



काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन।

विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा नेकपाका सांसद अमनलाल मोदीले उठाएपछि उनीविरुद्ध नानाथरी आरोप लगाएको भन्दै प्राधिकरणका कामको अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने सांसद बस्नेतले माग गरेका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बस्नेतले भने, ‘माननीय अमनलाल मोदीले सार्वजनिक लेखा समिति बैठकमा विद्युत् प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठ्न बाँकी रकमबारे कुरा उठाउनुभयो।’

उनले थपे, ‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ। यी कुरा उठाउँदा माननीय मोदीमाथि केही संचारमाध्यम र सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको बस्नेतको भनाइ थियो।

उनले भने, ‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो। कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ। अमनलाल मोदीजीले उठाएका विषय गम्भीर छन्।’

प्राधिकरणका कामकारबाहीलाई अख्खतियार र लेखा समितिले छानबिन गर्नुपर्ने सांसद बस्नेतको माग थियो। उनले भने, ‘यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग र सार्वजनिक लेखा समितिले उचित छानिबन गरोस्। दोषीहरूलाई कारबाही होस्।’ केही दिन पहिलेको सार्वजनिक लेखा समिति बैठकमा सांसद मोदी र कार्यकारी निर्देशक घिसिङबीच विवाद भएको थियो। त्यसपछि मोदीमाथि विभिन्न आरोप लगाइएका थिए।