मन्त्रिपरिषद बैठक बस्दै: एकाएक किन रोकियो कुलमानको प्रस्ताव ? - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

मन्त्रिपरिषद बैठक बस्दै: एकाएक किन रोकियो कुलमानको प्रस्ताव ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक डाकेका छन् । बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

आज बालुवाटारमा बस्ने बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतवारबाट सकिएको छ।

उनी नै दोहोरिने सम्भावना रहेको बताइए पनि प्रधानमन्त्री इलि भने कुलमानको पक्षमा नरहेको स्रोतले बताएको छ । उर्जा मन्त्रालयले कुलमानलाई नै पुनः नियुक्ति गर्नेगरी तयार गरेको प्रस्ताव एकाएक रोकिएको स्रोतको दाबी छ ।

मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्तुत गर्न प्रस्ताव तयार पारिसकेको थियो । तर, कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। पुनले घिसिङलाई नै दोहोर्‍याउने प्रस्ताव लाने तयारी गरेका छन्।

मन्त्रिपरिषदमा प्रस्ताव रोकिएकाले आज यसबारे छलफल मात्रै हुने बालुवाटार स्रोतले बताएको छ । यदि कुलमानले प्राधिकरणमा निरन्तरता नपाएको खण्डमा सरकार थप आलोचित हुने पक्का छ ।

यसबाहेक बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुनसक्ने बताइएको छ।

नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन।

प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्बाट निर्णय हुने बताएका थिए।आजको बैठकमा गौतमबारे निर्णय हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे पनि आइतवार कार्यकाल पूरा भएर बिदा भएका छन्। रिक्त आयुक्तका विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय लिन सक्नेछ।