दोस्रो कार्यकाल मेरालागि जीवनको सबैभन्दा ठूलो चुनौती होः कुलमान
काठमाडौँ– नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन्।
प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उनको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्।
उनले भने, ‘विद्युत प्राधिकरणमा मेरो दोस्रो कार्यकाल सुरु भएको छ। मेरा लागि यो जीवनकै ठूलो चुनौती हो। यो ठूलो चुनौतीलाई स्वीकार गरेर आएको छु।’
प्राधिकारणमा दोस्रो कार्यकालमा आउनुपर्छ भन्ने आफूलाई नभएपनि जनअपेक्षाअनुसार आफू पुनः आएको उनले बताए।
‘सरकारले मलाई एकचोटी आएर काम गर्नु भन्यो। प्राधिकरणको आवश्यकता र जनअपेक्षा अनुसार म फेरि आएको छु। यो भन्दा ठूलो चुनौती मेरो जीवनमा छैन। यो मैले एक्लैले गर्न सक्ने होइन। हामी सबैले मिलेर जोस् जाँगरका साथ काम गर्ने हो,’ उनले भने।
सबै मिलेर काम गर्दा प्राधिकरण आजको अवस्थामा पुगेको भन्दै उनले मिलेर प्राधिकरणको शीर उँचो बनाउनु पर्ने बताए।
आफू कसैको बारेमा टीकाटिप्पणी गर्ने पक्षमा नरहेको भन्दै उनले प्राधिकरणमा केही गलत काम भएको भए सच्याउने र राम्रो काम भएको भए निरन्तरता दिने बताए।