कुहिएको चामल खान बाध्य छन कैदीहरु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

कुहिएको चामल खान बाध्य छन कैदीहरु



हिमाल पोष्ट / खोटाङ, २४ मङ्सिर । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो ।

संस्थानबाट कारागार लगिने चामल विसं २०७१÷०७२ मा प्याकिङ गरेको पाइएको छ । “सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा उठायौँ”, एक कैदीले भने, “हामीप्रति भएको अन्यायको विषयमा अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन ।”

संस्थानले सडिएको चामल बिक्री गरिरहँदा कारबाही गर्ने निकाय जिल्ला प्रशासन मौन रहेको कैदीबन्दीले आरोप लगाएका छन् । “संस्थानबाटै हाम्रो स्वास्थ्यमाथि हेल्चेक्र्याइँ भएको छ”, एक बन्दीले भने, “यसप्रति सम्बन्धित निकायले गम्भिरतापूर्वक हेरेर कारबाही गर्नुप¥यो ।”

संस्थानबाट ल्याएर अहिले खाँदै गरिएको चामल बोरामै चुलेसा परेको, भिजेर डल्लो परेको र सडिएर कालो भएको रहेको कैदीबन्दीले बताएका छन् । सामाजिक कानुनी सहायता केन्द्र खोटाङले गत सोमबार आयोजना गरेको निरीक्षण कार्यक्रमका लागि कारागार पुगेको टोलीसमक्ष उनीहरुले यस्तो दुखेसो पोखेका हुन् ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागार निरीक्षण गरेर सार्वजनिक गरेको प्रतिवेदनमा समेत कैदीबन्दीलाई सडिएको चामल खुवाउने गरेको पाइएको थियो । आयोगले कारबाहीका लागि सिफारिस गर्दासमेत सम्बन्धित निकायलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।

तीन वर्षअघिदेखि संस्थानको गोदाममा थन्किएर रहेको चामल कारागारलाई उपलब्ध गराइएको संस्थानका प्रमुख देवकिशोरलाल कर्णले स्वीकार गर्नुभयो । “संस्थानमा रहेको चामल खानयोग्य नै थियो”, उहाँले भन्नुभयो, “खानयोग्य भएकै कारण कारागारलाई उपलब्ध गराइएको हो ।”

संस्थानले आर्थिक वर्ष २०७३÷७४ का लागि कारागारलाई दिनका लागि भनेर एकसय ४१ क्विन्टल चामल छुट्याएको थियो । तीन वर्षअघि खाद्य संस्थानमा आएको चामल गत वर्ष बिक्री नभएपछि सोही चामल यस वर्ष कारागारका कैदीबन्दीका लागि उपलब्ध गराइएको संस्थानले जनाएको छ । रासस