किन लेखे कमल थापाले स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएकोबताएका छन् ।
उनले राजनीतिमा देखिएका पछिल्ला दृश्यले नेपाली राजनीतिमा कालो बादल मडारिन थालेको समेत बताएका छन् । बुधबार सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको बताएका हुन् ।
अध्यक्ष थापाले घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएको बताए ।
‘राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं’, उनले भनेका छन् ।
अध्यक्ष थापाले नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल व्यापक भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’