कोरोनाले गल्दै राजधानी: १५ हजार बढी संक्रमित काठमाडौंमै - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कोरोनाले गल्दै राजधानी: १५ हजार बढी संक्रमित काठमाडौंमै



काठमाण्डाै– साेमबार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणकाे दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणकाे दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहनुभएका काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको टिमसहित मङ्गलबारदेखि नै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउछाैँ’, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छाैँ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टिम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्कअनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा झण्डै २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने बताए ।

उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए । ‘पीसीआर औषधि होइन, त्यसैलै रहरले परीक्षण गर्नेहरुलाई होइन, कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजी–खोजी हामी परीक्षण गर्छाैँ । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला ।’

त्यसैगरी बैठकले उपत्यकाका पालिकाबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा फेरि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

‘उपत्यकाका पालिका तहबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ’, उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’ उनले निषेधाज्ञाको अवधिभित्रै कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई मंगलबारदेखि नै १८ जना फोकल पर्सन तोक्ने प्रतिबद्धता व्यक्त गरेको छ’, उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ ।’

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए ।

बैठकमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एकजुट नहुने हो भने कोरोनाले जित्ने बताए । ‘काठमाण्डाैभित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’ उनले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समुदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भने । ‘ट्रेस टेस्ट आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस्, हामी सहयोग गर्न तयार छौँ’, उनले भने, ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ । मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ ।’ उनले धेरै भन्दा धेरै टेस्ट गर्न पनि सुझाव दिए ।

स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिए । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको जानकारी दिए ।

‘अहिलेको आवश्यकता भनेको समुदायमा जान सक्ने खतरालाई रोक्ने नै हो’, उनले भने, ‘हामी सहजीकरण गर्न तयार छौँ, तपाईँहरु काम गर्नुहोस् ।’ उनले कोटेश्वर, महाराजगञ्ज र वानेश्वर क्षेत्रमा बढी संक्रमित देखिएको भन्दै लगातार वृद्धि भएको स्मरण गराए ।

स्वास्थ्य सेवा विभागका डाक्टर अमित पोख्रेलले कन्ट्याक्ट ट्रेसिङबाट चेन ब्रेक गर्न सके ८५ प्रतिशत सुरक्षित हुने बताए ।