होटल, रेष्टुरेन्ट, पसल सबै खुला- उपत्यका आवत जावत गर्न पाइने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

होटल, रेष्टुरेन्ट, पसल सबै खुला- उपत्यका आवत जावत गर्न पाइने



काठमाडौं– अब काठमाडौं उपत्यकाभित्रका भित्र सबै पसल खोल्न पाइने भएको छ । उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले व्यवसाय खोल्न पाइने व्यवस्था १ असोज, बिहीबारदेखि लागू हुने निर्णय गरेको हो।

बैठकले अर्को आदेश नभएसम्म यातायातमा जोरबिजोर प्रणाली भने कायम राख्ने निर्णय गरेको छ। अत्यावश्यक सेवा र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुने छैन।

बिहीबारदेखि होटल, रेष्टुरेन्ट पनि सञ्चालन गर्न पाइने छ। यसअघि ‘टेक अवे’ सुविधा मात्रै दिन पाउँथे।

भेला, भीडभाड, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा भने रोक लगाइएको छ।

त्यस्तै, मठमन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधि र भीडभाड गर्न पाइने छैन।

शैक्षिक संस्था तथा परीक्षा सञ्चालन गर्न पनि निषेध गरिएको छ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरञ्जन स्थल, स्पा, सैलुन, ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद पनि सञ्चालन हुने छैनन्।

प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायतमा हुने क्रियाकलाप सञ्चालनमा पनि निषेध आदेश कायमै छ।

त्यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभइन्जेल खुला गरिएको छ ।

मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको दाहालले बताएका छन् ।