काठमाडौं उपत्यकामा अब पसल खोल्न पाइने - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

काठमाडौं उपत्यकामा अब पसल खोल्न पाइने



काठमाडौँ- कोभिड संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् । उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो ।

जेठ १४ गतेबाट खाद्यान्न पसलसमेत बन्द गरिएकोमा जेठ २१ गतेबाट भने अत्यावश्य खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न दिइने पनि उनले जानकारी दिए । थपिएको निशेधाज्ञामा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्कन भनेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु पनि बन्द नै रहने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

सार्वजनिक सवारी साधनहरु भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ । अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरु, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धीत सवारी साधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।