काठमाडौं बन्यो कोरोनाको ‘डेन्जर जोन’
काठमाडौं- काठमाडौं उपत्यका कोरोनाको डेन्जर जोन बनेको छ । हरेक दिन संक्रमित बढेका छन् भने जनास्वास्थ्यका मापदण्ड पालना भएका छैनन् ।
उपत्यकामा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३८२ महिला र ५५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा काठमाडौंमा एक महिला र दुई पुरुषको संक्रमणका कारण ज्यान गएको छ । काठमाडौंका ३ सहित देशभर १० जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १३५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।