यसकारण सबैभन्दा जोखिम अब काठमाडौंमा छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यसकारण सबैभन्दा जोखिम अब काठमाडौंमा छ



काठमाडौं- वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो।

कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब औपीसीआर परीक्षण गरिने भएको छ। कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए।

गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो। आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

२९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका समाचार अनुसार चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ। पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ।’

प्रवक्ता डा.देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा.देवकोटाले सचेत रहन आग्रह गरेका हुन्।

‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्। सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा.देवकोटोले भने।