क्रोएशियाकी राष्ट्रपतिले कप्तानलाई अँगालो हालेर भावुक हुँदै यसरी सम्झाइन् (फोटोफिचर) - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

क्रोएशियाकी राष्ट्रपतिले कप्तानलाई अँगालो हालेर भावुक हुँदै यसरी सम्झाइन् (फोटोफिचर)



फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो ।

रसियाको राजधानीस्थित लुज्निकी स्टेडियममा राष्ट्रपति ग्राबर विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् । उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों थिए ।

क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । उत्कृष्ट प्रर्दशनका कारण टीमले संसारको ध्यान आकृष्ट गर्नुका साथै वाहवाहीसमेत पनि बटुलिरहेको छ ।

खेलको अन्त्यमा टीमका कप्तान  मोड्रिचलाई गोल्डन बल प्रदान गरिएको छ ।

राष्ट्रपति ग्राबर भीआईपी सेक्सनमा खेल अवधिभरी पुटिन र म्याक्रोसँगै बसिन् । खेलमा हार व्यवहोरेपछि निकै भावुक भएकी उनले अन्तिममा मोड्रिचलाई अँगालो हालेर निकै प्रेमपूर्वक सम्झाइन् ।

यसअघि, राष्ट्रपति ग्राबरलाई रुस भर्सेस क्रोएशियाको क्वार्टर फाइनल खेलमा देखिएको थियो । उक्त म्याचमा क्रोएशियाले पहिलो गोल हानेपछि उनी अत्यधिक खुसी भएर रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवको अघिल्तिर नाचेकी थिइन् । उनी क्रोएशियालीे झण्डाको रङको स्टाइलिस पहिरनका कारण पनि चर्चित भएकी थिइन् ।