किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के उमेश - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के उमेश



नेपालगन्ज । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्। तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्। परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन्। २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

‘छोराको अवस्थाबारे धेरै खोजी ग¥यौंैं, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं। ’ उनका अनुसार बेपत्ता भएको तीन महिनापछि उनी मरेको सम्झेर किरिया गरिएको थियो। काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन। उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन्। तर उमेशले पुराना सबै कुरा र घटनाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन्। ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ। ’